
स्याङ्जा - लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा कृति ‘अन्त्य’ को विमर्श एवम् लघुकथा वाचन समारोह–२०८२ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैठौं वार्षिकोत्सवको सन्दर्भसँगै आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्म जयन्तीको सन्दर्भमा वैकल्पिक बाटो, पृथक् पाइला सिर्जनात्मक अभियान - २०७६ स्याङ्जाको ३४ औँ पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै पहिलो पटक आयोजना गरिएको लघुकथा कृति विमर्श एवम् एकल लघुकथा वाचन समारोह शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा ‘अन्त्य’ लघुकथा कृतिसँगै लघुकथा विधाको भविष्य र स्याङ्जाको साहित्यमा नारी स्रष्टाहरुको लेखनमाथि केन्द्रित रहेर अनन्त अर्याल, शम्भु अर्याल, इन्दु श्रेष्ठ, लघुकथाकार खनालसँग मिलन समीरको संयोजनमा विमर्श गरिएको थियो । विमर्शको निष्कर्षमा वक्ताहरूले नवोदित नारी स्रष्टाको लघुकथा लेखन सशक्त भएको र आगामी दिनमा अझै सशक्त भएर आउने बलियो सम्भावना रहेको एवं लघुकथाको भविष्य राम्रो रहेको बताए ।
पुतलीबजार–१३ स्याङ्जामा जन्मिएकी युवा लघुकथाकार लक्ष्मी रेग्मी खनाल हाल वालिङमा रहेर सिर्जना कर्ममा क्रियाशील छिन् । स्नातकसम्मको औपचारिक अध्ययन पूरा गरेकी लक्ष्मीको `अन्त्य´ लघुकथा कृति पहिलो साहित्यिक कृति हो । उनी विभिन्न समयमा भएका लघुकथा विधा केन्द्रित प्रतियोगिताहरूमा पुरस्कृत भइसकेकी छिन् ।
अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि मिलन समीरद्वारा संयोजन गरिएको थियो ।