काठमाडौं - गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवाको गोसाईंकुण्ड गाँउपालिका– २ को रसुवागढीमा ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले रसुवा विपद्मा घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनियाँ नागरिक गरी १९ जना बेपत्ता भएको बताएका हुन् ।
मन्त्री लेखकले बेपत्ताहरूको खोजी कार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए ।
‘हालसम्म धादिङस्थित त्रिशूली नदीको किनारमा नाम, थर, वतन नखुलेको २ वटा पुरुषको शव फेला परेको छ । रसुवा, धादिङ्ग र नुवाकोटमा गरी ३ वटा शरीरको अङ्ग फेला परेको छ । नुवाकोट विदुर नगरपालिका–३, शिर खाली नयाँ पुल स्थित त्रिशूली नदीको किनारामा दायाँ खुट्टा नभएको अवस्थामा पुरुषको शव फेला परेको छ ।’ उनले भने, ‘धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी स्थित त्रिशूली नदी किनारमा अन्दाजी ४०/४५ वर्षका पुरुषको शव फेला परेको छ । भरतपुर नगरपालिका– २९ पन्ध्रकिलोस्थित त्रिशूली नदीको किनारमा इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको छ ।’
मन्त्री लेखकले हालसम्म हवाई उद्धारबाट ३० जना नागरिकको सफलतापूर्वक उद्धार गरिएको जानकारी दिए । ‘नुवाकोट विदुर नगरपालिकाको इन्द्रेणी घाटमा किस्पाङ– ४ घर भई हाल विदुर–९ बस्ने पाल्तेन तामाङ र निजकी श्रीमती मंगली तामाङ एकाबिहानै दाउरा खोज्ने क्रममा खोलाको किनारमा पुग्दा एक्कासी ठुलो बाढी आई खोलाको बिचमा फसेको अवस्था थियो ।’ उनले भने, ‘हाम्रा सुरक्षाकर्मीले ठुलो बहादुरीपूर्वक निज दाम्पत्तीलाई हवाई उद्धार मार्फत सुरक्षित स्थानमा पुर्याउन सफल भएका छन् ।’
संकटमा फसेका दुई जनाको जीवन उद्धार मात्र हैन विपद्मा परेका नागरिकलाई सरकार हाम्रो साथमा छ भन्ने आशाको सञ्चार गराएको उनको भनाई थियो ।
त्यसै गरी, स्थलगत उद्धार मार्फत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेको २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको छ । सोही घटनामा रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका चिनीयाँ पुरुष– १ जना, नेपाली पुरुष–१५ जना र नेपाली महिला २ जना गरी जम्मा १८ जनालाई सकुशल उद्धार गरिएको थियो ।
नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको, सडक खण्डमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको छ ।
‘मानिस र सवारी साधन आवतजावत बन्द भएको अवस्था छ । सवारी साधनतर्फ सुख्खा बन्दरगाहमा भन्सार जाँच पासको लागि राखिएका २३ वटा मालवाहक कन्टेनर ट्रक, ३५ वटा विद्युतीय गाडी र ६ वटा सिनो ट्रकलाई बाढीले बगाएको छ ।’ मन्त्री लेखकले भने,‘रसुवागढी हाइड्रोपावरको ड्याम, त्रिशूली ३ बगाइलगेको र अन्य थप क्षतिको विवरण सङ्कलन भइरहेको छ ।’
अकल्पनीय विपद्को सूचना प्राप्त भएपश्चात् आफूले सुरक्षाकर्मीलाई परिचालित हुन निर्देशित गर्दै राजधानीबाट आवश्यक समन्वय, सहजीकरण र सहायतामा निरन्तर क्रियाशील रहेको उनको भनाई छ ।
मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विपद् प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएको बताए ।