
काठमाडौं- प्रहरीले ६ जना चिनियाँ नागरिक सहित ५२ जनालाई पक्राउ गरेको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएको हो । प्रहरीका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर महानगरपालिका-४ दमकल चोक स्थित एक घर बाट पक्राउ गरिएको हो ।
‘एक घर भाडामा लिई सोशीयल सफ्टवेयर डेभलोपमेन्ट कम्पनी दर्ता गरी गैर कानूनी रूपमा कल सेन्टर तथा मेटो डेटिङ एप संचालन गरिरहेको र सोको शाखाको रूपमा काठमाडौं महानगरपालिका-१३ चागलस्थित एक घर भाडामा लिई विभिन्न नेपाली युवतीहरूलाई प्रलोभनमा पारी डेटिङ एप मार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो‚’ प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९ सय ५० रुपैयाँ, ल्यापटप ७ थान र मोबाइल ५४ थान समेत बरामद गरेको छ । पक्राउ मध्ये ६ जना चिनियाँ नागरिकहरू उपर अभौतिक मुद्रा सम्बन्धी मुद्दा दर्ता गरी अन्य ४६ जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।