Harsamaya

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजार निर्माण गर्न र युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्न राज्यले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा सोमबार आयोजित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन २०८२, को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले श्रम बजारको वर्तमान समस्यालाई समाधान गर्न उपयुक्त नीति र शिक्षा प्रणाली आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘आजको श्रम बजारमा जे समस्या छ त्यसलाई सम्बोधन गर्नुपर्ने छ । नेपालीहरूको श्रम बजार बन्नुपर्ने छ । नेपाली सिपको श्रम बजार बन्नुपर्ने छ । नेपालको श्रमिकहरूको श्रम बजार बन्नुपर्ने छ । त्यसका लागि राज्यले एउटा नीति ल्याउनुपर्ने छ । त्यो खालको शिक्षा प्रणाली ल्याउनुपर्ने छ । अहिले आगामी आर्थिक वर्षको बजेटले एउटा कुरा पढ्दै कमाउँदै भन्ने नयाँ कार्यक्रमहरू ल्याएको छ । यसै गरी वित्तीय क्षेत्रमा आज पनि नेपालसँग बजेटको अभाव हो र ? नेपाली पुँजी बजारमा बजेटको अभाव हो र ? ।’

साथै उनले नेपालमा बजेट अभाव र पुँजी अभाव नभएको तर पुँजी प्रवाह हुन नसकेको बताए । मन्त्री भण्डारीले कोभिडपछिको समय स्मरण गर्दै १८ प्रतिशतसम्मको ब्याजदर व्यवसायीहरूले तिर्नुपरेको उल्लेख गरे । अहिले ब्याजदर एक अंकमा झरे पनि लगानीमा अपेक्षित सुधार नभएको उनको गुनासो थियो ।

उनले सेवा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ऐन संशोधनसमेत अगाडि बढाइएको जानकारी दिए । साथै, नेपाली वस्तु मात्र होइन, क्षमताको समेत निर्यात सम्भव रहेको बताउँदै, उद्यमशीलताको प्रवर्द्धनमा राज्य, निजी क्षेत्र र युवाबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

उनले भने, ‘कोभिड पछिको समय हेर्ने हो भने नेपालका व्यवसायहरुले १८ प्रतिशत व्याजदर पनि तिरे । आज व्याजदर एक अंकमा झरेको छ । तर बैंकमा जानुस् पुँजी थुप्रिएर बसेको छ । सरकारले ऋण दिएको छ बैंकहरु आरामले बसेका छन् । अनि हामी लगानी लगानी भनेर भनिरहेका छौं । नेपालका वित्तीय क्षेत्रमा आज पुँजी थुप्रिएर बसेको छ । सरकारले प्राथमिकता तोकेको छ । आजको शिक्षा, आजको इनर्जी, आजको टुरिजम, एग्रिकल्चरमा लगानी गरौं भनिरहेका छौं तर पुँजी प्रवाह भैइरहेको छैन । आजको उद्यम, उद्यमशीलताको कुरा गर्नु हुन्छ भने पनि हामीले हाम्रा वस्तुको मात्रै होइन हाम्रो क्षमतालाई पनि निर्यात गर्न सक्छौं । राज्यले यतिखेर ऐन शंसोधन गरेर विशेषत ः सेवा उद्योगलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाएको छ ।’

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update