Harsamaya
वडा नं. ५ ले जित्यो दोस्रो वडाध्यक्ष कप रनिङ शिल्डको उपाधि
दोस्रो वडाध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले जितेपछि ।

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका वडा नम्बर ७ को युवा तथा खेलकुद शाखाको आयोजनामा भएको दोस्रो वडाध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले हात पारेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ५ ले वडा नम्बर ४ लाई ३-१ सेटमा पराजित गर्दै उपाधिसँगै नगद ४० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो। उपविजेता वडा ४ ले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

तेस्रो स्थानका लागि भएको खेलमा वडा ७(बि) ले वडा १२ लाई हराउँदै नगद १० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्‍यो।

समापन समारोहमा प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले विजयी टिमहरूलाई पुरस्कार वितरण गर्दै खेलकुदको विकासका लागि विकासवादी सोच अपरिहार्य भएको धारणा व्यक्त गरे।

उनले भने, ‘विकासवादी सोच भएमा मात्र परिवर्तन सम्भव हुन्छ। खेलकुदले व्यक्तिको मात्रै होइन, राष्ट्रको पनि भविष्य बदल्न सक्छ।’ पूर्वमन्त्री श्रीपालीले आफ्नो कार्यकालमा भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको स्मरण गर्दै थपे, ‘मैले खेलकुदमन्त्री हुँदा भलिबललाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेको थिएँ। त्यो निर्णय आज सार्थक देखिएको महसुस भइरहेको छ।’

उनले खेलकुद क्षेत्रमार्फत रोजगारी सिर्जना गर्न सकिने सम्भावना औँल्याउँदै स्थानीय, प्रदेश र संघ सरकारबीच समन्वय गरी खेलकुद पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए।

‘खेलाडीहरू राष्ट्रका गहना हुन्,’ उनले भने, ‘खेलले रोजगारी बनाओस्, खेलाडीको जीवन खेलकै माध्यमबाट चलोस् भन्ने मेरो चाहना हो।’ समापन समारोहमा उत्कृष्ट खेलाडीहरू पनि घोषणा गरिएको थियो।

बेस्ट ब्लकर: वडा ५ का आइमान तामाङ

बेस्ट सेटर: वडा ४ का रोशन अधिकारी

बेस्ट स्पाइकर: वडा ४ का निरज श्रेष्ठ

बेस्ट लिबेरो: वडा ७ का सुरज अधिकारी

बेस्ट प्लेयर (सर्वोत्कृष्ट खेलाडी): वडा ५ का मनोज तामाङ

समारोहमा इन्द्रावती–७ का वडाध्यक्ष रविन्द्र खातीले प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउँदै आयोजक तथा सहभागी सबैप्रति आभार प्रकट गरेका थिए।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update