Harsamaya
वडाध्यक्षले बोटबिरुवा काटेपछि विरोधमा अनसन
धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलले सार्वजनिक बोट वृक्षहरू कटान गरेको भन्दै स्थानीयवासीहरूले विरोध गरेका छन् ।

जनकपुर - धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलले सार्वजनिक बोट वृक्षहरू कटान गरेको भन्दै स्थानीयवासीहरूले विरोध गरेका छन् ।

नगराईन नगरपालिकास्थित जटहीमा शनिबार बिहानदेखि दर्जनभन्दा बढी बोटवृक्ष कटान गरेको विरोधमा स्थानीय रोहित चौधरीले अनिश्चितकालीन अनसनमा बसेका छन् ।

दर्जनभन्दा बढी आँप, लिची, धातृलगायतका रुखहरू काट्ने क्रममा विरोध गर्दा स्थानीय सत्यम् चौधरीलाई समेत कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलको निर्देशनमा उनका मान्छेहरुले कुटपिट गरेको अनसनकारी रोहित चौधरीले जानकारी दिए ।

अनसनमा बस्दै रोहित चौधरीले भने, ‘कार्यवाहक वडाध्यक्ष मण्डलले प्रकृतिलाई दोहन हुने गरी फलफूललगायत प्रकृति तथा वातावरणलाई संरक्षण गर्ने रुखहरू बेमतलबमा काटेको र सोको विरोध गर्दा गुण्डा लगाएर कुटपिट गरेपछि आफूले उनको कार्य शैलीको विरोधमा अनसनमा बसेको छु ।’

उनले कार्यवाहक  वडाध्यक्षको कार्यशैली र रुख काटेको विरोध गरेपछि गुण्डा लगाएर दुर्व्यवहार गर्दै कुटपिट गर्न थालेपछि आफू अनसनमा बसेको बताए ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update