काठमाडौं - अर्थमन्त्री विष्णु पौडेलले नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका लागि ठूलो मात्रामा लगानीको आवश्यकता रहेको बताएका छन् ।
बिहीबार एलडिसी स्नातक सम्बन्धी कार्यक्रममा बोल्दै लगानीको वातावरण सुधार गर्न कानुनहरू परिमार्जन गरिएको भन्दै अब लगानीको आवश्यकता रहेको औँल्याएका हुन् ।
उनले भने, ‘दिगो विकास र नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका लागि ठूलो मात्रामा लगानीको आवश्यकता रहेको छ । पछिल्लो समयमा विदेशी लगानी आप्रवाह तथा विकास सहायता परिचालनमा देखिएको प्रवृति र संरचनागत समस्याहरु समदृष्टि गरी सरकारले विकासका आवश्यकता पुरा गर्न वैकल्पिक विकास वृत्त परिचालन सम्बन्धी विधेयक संसद्मा पेस गरेको छ ।’
उनले वैदेशिक सहायता परिचालन २०८२ जारी गरेको भन्दै लगानीको वातावरण सुधारका लागि काम भइरहेको बताए । ‘सहायता परिचालनलाई प्रभावकारी बनाउन वैदेशिक सहायता परिचालन २०८२ जारी गरिएको छ । लगानीको वातावरण सुधार गर्न निजी क्षेत्रको सहकार्यमा लगानीसँग सम्बन्धित विभिन्न कानुनहरू सुधार तथा परिमार्जन गरिएको छ,’उनले भने ।
उनले जलवायु सम्बन्धी विश्वव्यापी कोषहरुको पहँच कायम गर्दै उत्थानशीलता विकास गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।