Harsamaya
राङ्गी गाउँमा विद्युत ट्रान्सफर्मर चोरी, सयौं परिवार खानेपानीबाट वञ्चित
ट्रान्सफर्मरभित्रको तामाको तार चोरीपछि ।

रौतहट - रौतहटको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिका ११ राङ्गी गाउँस्थित संचालित खानेपानी आयोजनाको विद्युत ट्रान्सफर्मर चोरी भएको छ।

सो ट्रान्सफर्मर चोरी भएसँगै गाउँका सयौं परिवार खानेपानीबाट वञ्चित भएका छन्।

मंगलबार राती अज्ञात समूहले विद्युतको लाइन काटेर खानेपानीको ५० केवी क्षमताको ट्रान्सफर्मर चोरी गरेका हुन्। चोर समूहले ट्रान्सफर्मर तल झारेर सो भित्र रहेको महँगा तामाका केबुल चोरेर लगेको स्थानीयले बताएका छन्।

गाउँ बाहिर रहेको खानेपानी आयोजनाको विद्युत ट्रान्सफर्मर चोरीबारे बुधवार बिहान थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। ट्रान्सफर्मर चोरी भएपछि अहिले राङ्गी गाउँको खानेपानीको आपूर्ति ठप्प भएको छ। 

यस्तो गर्मीको मौसममा खानेपानीको आपूर्ति बन्द हुँदा १०० भन्दा बढी परिवारलाई ठूलो सास्ती भएको समाजसेवी हरी कोईरालाले बताए।

ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमूख इन्स्पेक्टर सुरेन्द्र यादवले चोरीको घटनाबारे आफूहरूले बुधबार बिहान ११ बजे थाहा पाउने बितिकै स्थलगत निरीक्षण गरेको बताए ।

ट्रान्सफर्मर चोरी मंगलवार राती ११–१२ बजेको बीचमा भएको हुनुपर्छ। फतुवा बिजयपुर एरियामा मंगलवार राति १२ भएपछि पानी परेको थियो र चोरी भएको स्थानमा राखिएको प्लास्टिक माथि पानीको थोपा देखिएको छ। ट्रान्सफर्मर चोरी गर्ने कुनै नयाँ गिरोह सक्रिय भएको अनुमान गर्दै घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर यादवले जानकारी दिएका छन्।

केही वर्ष अघिपनि राङ्गी गाउँको सोही खानेपानी आयोजनाको विद्युत ट्रान्सफर्मर चोरी भएको थियो। ईलाका प्रहरी कार्यालय बिजयपुरका तत्कालीन प्रमुख इन्स्पेक्टर चन्द्रकान्त साह घटनाको गहन अनुसन्धान गरी चोरीमा संलग्न ५ जना लाई पक्राउ गरेको थियो।

पक्राउ परेका सबैजना आरोपहरू पुर्पक्षका लागि जेल चलान भएका थिए । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update