काठमाडौं - गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै एक महिलाको भिडियो सामाजिक सञ्जालमा पोस्ट तथा प्रसार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । तर, भिडियोमा देखिएकी महिला गृहमन्त्रीकी आमा भएको पुष्टि भएको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार कलाकार छत्र बोगटी र बुधबार थप दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिकोटका ४२ वर्षीय छत्र बोगटी, दाङका २८ वर्षीय शालिकराम न्यौपाने र दोलखाका ३७ वर्षीय नवरत्न तामाङ रहेका छन् । मनोरञ्जन क्षेत्रमा छत्र बोगटी सर्विन बोगटीका नामले परिचित छन् भने न्यौपाने चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य हुन् ।
प्रहरीका अनुसार ४९ वर्षीया एक महिलाले आफ्नो अनुमति नलिई भिडियो खिचेर सार्वजनिक गरेको भन्दै तीनै जनाविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी दिएकी छन् ।
विवादित भिडियोमा आफूलाई ज्ञानु तामाङ बताउने महिलाले सुधन गुरुङ आफ्नो छोरा भएको दाबी गरेकी छन् । उक्त भिडियोलाई ‘गृहमन्त्रीको आमा’ र ‘सुधन गुरुङको आमाको अवस्था’ जस्ता सन्देशसहित सामाजिक सञ्जालमा प्रसार गरिएको थियो ।
प्रहरीका अनुसार न्यौपानेले उक्त भिडियो पहिलोपटक ‘इन्टरटेनमेन्ट रिल्स’ नामको फेसबुक पेजमा पोस्ट गरेका थिए । त्यसपछि भिडियो विभिन्न सामाजिक सञ्जालमा पटक–पटक साझा भएको थियो । पक्राउ परेका अन्य दुई जनाले पनि उक्त भिडियो साझा गरेको आरोप छ ।
यसैबीच, न्यौपानेकी पत्नी अस्मिता पाण्डेले मंगलबारदेखि श्रीमान् परिवारको सम्पर्कमा नआएको भन्दै बुधबार प्रहरी वृत्त सिंहदरबारमा खोजतलासका लागि निवेदन दिएकी थिइन् । प्रहरीले खोजी गर्ने क्रममा उनी पक्राउ परेको खुलेको हो ।
जोरपाटी क्षेत्रमा बस्दै आएकी ज्ञानु तामाङ विभिन्न स्थानमा हिँड्ने र माताको काम गर्दै आएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् । तर, उनी गृहमन्त्री गुरुङकी आमा भएको पुष्टि नभएको अवस्थामा उनको भिडियोमा गरिएको दाबी र वास्तविक सम्बन्धबारे स्पष्टता आउन बाँकी छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार महिलाले अनुमति नलिई भिडियो खिचेर सार्वजनिक गरी आफ्नो वैयक्तिक गोपनीयता हनन गरेको भन्दै जाहेरी दिएकी हुन् । पक्राउ परेका तीनै जनामाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

