Harsamaya
सहकारी ठगी प्रकरणमा संस्थापकसहित दुई जना भारतसँगको सीमावर्ती क्षेत्रबाट पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सुनसरी - बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी गरेको आरोपमा फरार रहेका संस्थापकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सहकारीका संस्थापक ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) र ऋण उपसमिति सदस्य तथा ग्राहक सेवा कर्मचारी ३३ वर्षीया अस्मिता भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष टोलीले मंसिर २ गते उनीहरूलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बराह बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय सुनसरीको धरानमा रहेको थियो । उक्त सहकारीसँग आबद्ध नेपालमा ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना गरी बचतकर्ताले जम्मा गरेको रकम अपचलन तथा ठगी गरेको आरोप छ ।

यस प्रकरणमा १७ हजार १० जना पीडित रहेका छन् भने शंकर थापासहित ४ हजार २४३ जनाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको छ । मुद्दामा कुल बिगो १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update