काठमाडौं - राजस्व चुहावट मुद्दामा ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको साविक जयनगर गाविस–८ हाल गढीमाई नगरपालिका–९ का ३३ वर्षीय गुलशन श्रीवास्तव रहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुरका निर्देशक तथा अनुसन्धान अधिकृत प्रेमप्रसाद आचार्यसमेतको प्रतिवेदन र जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको राजस्व चुहावटसम्बन्धी मुद्दामा श्रीवास्तव प्रतिवादी थिए ।
श्रीवास्तवले संगीला ट्रेड एन्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मयंक इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेसनल र न्यू महादेव इन्टरनेसनल कम्पनीमार्फत झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (मूअकर) बिजक जारी गरी कारोबार गरेको अभियोग लागेको थियो ।
उक्त मुद्दामा उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते फैसला गर्दै उनलाई ५३ करोडभन्दा बढी रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय हुने ठहर गरेको थियो । सजाय बेरुजु रही फरार रहेका उनलाई ब्युरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा मंसिर २ गते वीरगञ्ज महानगरपालिका–१६ नगवाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

