Harsamaya
उखु किसानलाई दिँदै आएको  अनुदान रोक्ने सरकारको निर्णयप्रति कोइरालाको असन्तुष्टि

काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता एवं सांसद डा. शेखर कोइरालाले सरकारले उखु किसानलाई दिँदै आएको ३० वर्ष पुरानो अनुदान रोक्ने निर्णयप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले  उखु किसानलाई दुई दशक अघि देखि दिइँदै आएको  अनुदान विना कारण रोकिनु आपत्तिजनक भएको बताएका छन् । उनले चिनी  उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा सरकारको यस्तो निर्णयले उखु किसान विस्थापित हुने पक्का भएको दाबी गरेका छन् । उनले सरकारले  यो निर्णय चिनी बिचौलियाको प्रभावमा परेर गरेको त हैन भन्दै श‌ंका व्यक्त गरेका छन् ।  

उनले लेखेका छन्, ‘उखु किसानलाई दुई दशक अघि देखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान विना कारण रोकिनु आपत्तिजनक छ । चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा यस्तो निर्णयले उखु किसान विस्थापित हुने पक्का छ । कतै सरकारको यो निर्णय चिनी बिचौलियाको प्रभावमा परेर भएको त हैन ?’

आर्थिक स्रोत नभएको भन्दै सरकारले ३० वर्षदेखि उखु किसानलाई दिँदै आएको अनुदान यसपालि रोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्षझैँ प्रतिक्विन्टल ७० रुपैयाँ दिने प्रस्ताव गरे पनि अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिन नसकिने जानकारी गराएका छन् । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update