Harsamaya
इन्द्रावती गाउँपालिकाको नीति तथा कार्यक्रममाथि राय सुझाव संकलन 
इन्द्रावती गाउँपालिकाको नीति तथा कार्यक्रममाथि राय सुझाव संकलन  ।

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रममाथि राय, सुझाव तथा गुनासा संकलन गरेको छ। बुधबार आयोजना गरिएको उक्त कार्यक्रममा सर्वसाधारण, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका प्रमुख, शिक्षक, सहकारी प्रतिनिधि लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। 

नीतिलाई थप जनउत्तरदायी, व्यवहारिक र समृद्धिमुखी बनाउने उद्देश्यले जनताको प्रत्यक्ष राय, सुझाव र गुनासा संकलन गर्ने र संकलित सुझाव र गुनासोलाई समेटी नीति तथा कार्यक्रमलाई आगामी असार १० गते कार्यपालिका बैठकमार्फत पारित गरिने इन्द्रावती गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर -५ का अध्यक्ष शशिनाथ आचार्यले बताए। 

प्रस्तावित नीति तथा कार्यक्रमको मस्यौदामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, श्रम, रोजगार, पर्यटन, खेलकुद, बालमैत्री शिक्षा तथा न्यायिक समिति सम्बन्धी विषयवस्तु समावेश गरिएको जनाइएको छ। पालिकालाई समृद्ध बनाउने दीर्घकालीन दृष्टिकोणका साथ ती कार्यक्रम प्रस्ताव गरिएको हो। 

कार्यक्रमका वडा १ का वडाध्यक्ष चीन लाल तामाङले जङ्गली जनावर नियन्त्रणका लागि विषादीको प्रयोगले वातावरणमा प्रतिकूल असर पार्न सक्ने भएकाले वैकल्पिक उपायहरूमा जोड दिनुपर्ने बताए। राप्रपा अध्यक्ष भूपेन्द्र बानियाँले सार्वजनिक जग्गामा उन्नत फलफूल खेतीको प्रवर्द्धन गरी आन्तरिक आम्दानी बढाउन सकिने प्रस्ताव राखे। नेकपा माओवादीका देवेन्द्र दाहालले विपद् व्यवस्थापन र शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे। एमाले पालिका अध्यक्ष डबले लामाले तीतेपातीको तेल उत्पादन र यातायात विस्तारजस्ता उपलब्धिहरू प्रस्तुत गरे। 

नेपाली काँग्रेस इन्द्रावतीका सभापति जीवन थापा मगरले समृद्धिका लागि सबै दलबिच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। प्रमुख प्रशासकीय अधिकृत मनहरी बरालले प्राप्त सुझाव र गुनासोलाई गम्भीरतापूर्वक लिइने बताउँदै, भविष्यमा सुधारको प्रयास गरिने प्रतिबद्धता जनाए। 

उपाध्यक्ष शोभाना तामाङले  नीति तथा कार्यक्रम बजेटको उपलब्धता अनुसार कार्यान्वयन गरिने बताइन्। पूर्व अध्यक्ष वंशलाल तामाङले दलगत विवादभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै, युवासँगै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए। 

कार्यक्रमको अध्यक्ष झम्कनाथ नेपालले हाम्रो लक्ष्य नीतिलाई जनमुखी, व्यवहारिक र समाजवादमुखी बनाउने भएको बताए । उनले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै प्राथमिकताको आधारमा कार्यक्रम कार्यान्वयन गरिने स्पष्ट पारे। उनले फलफूल खेतीलाई नमुना योजनाको रूपमा अगाडि बढाउँदै आन्तरिक स्रोत वृद्धि गरिने योजना समेत सुनाए । साथै, शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार भएको उल्लेख गर्दै उनले पालिकाको परीक्षाफल ४७ प्रतिशतबाट ६८ प्रतिशतमा पुगेकोमा खुसी व्यक्त गरे ।

 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update