हेटौँडा - हेटौँडा उपमहानगरपालिका -१ का वडाध्यक्ष सविन न्यौपानेमाथि मोबिल छ्यापिएको छ । बुधबार दिउँसो वडा कार्यालय भित्रै उपमहानगर प्रवक्ता समेत रहेका अध्यक्ष न्यौपाने माथि मोबिल छ्यापिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अपरिचित व्यक्तिको एक समूहले वडाध्यक्ष न्यौपानेलाई मोबिल छ्यापेको हो । हेटौँडा–१ चाइना क्वाटर भित्र रहेको वडा कार्यालयमा कार्यकक्ष भित्र बसिरहेका अध्यक्ष न्यौपानेलाई नम्बर खुल्न नसकेको २ वटा मोटरसाइकलमा आएका ३/४ जना अपरिचित व्यक्तिहरूले मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार कार्यकक्षमा रहेका अध्यक्ष न्यौपानेको टाउको, कपडा तथा शरीरमा कालो मोबिल छ्यापिएको हो । मोबिल छ्यापेर फरार रहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको उनले बताए ।