कञ्चनपुर - कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्पदेखि करिब एक किलोमिटर टाढा शुक्लाफाँटा आरक्ष जंगलस्थित सडकखण्डमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
कात्तिक २५ गते दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र.०२-००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भि.न.पा.००१ ह ५२२ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालक, स्कुटरमा सवार तथा अटो चालक र अटोमा सवार गरी सात जना घाइते भएका हुन् ।
दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको थियो । गम्भीर घाइतेमध्ये एक बालकलाई थप उपचारका लागि धनगढीस्थित निशर्ग अस्पताल र अटो चालकलाई मायामेट्रो अस्पताल धनगढी रिफर गरिएको छ । अटोमा सवार अन्य घाइतेहरूलाई पनि थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल रिफर गरिएको छ ।
दुर्घटनामा कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ निवासी ४० वर्षीय दिनेश खाती स्कुटर चालक रहेका थिए । उनको अवस्था सामान्य रहेको छ । स्कुटरमा सवार उनका ६ वर्षीय छोरा अर्थक खाती भने गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि निशर्ग अस्पताल धनगढी रिफर गरिएको छ ।
त्यस्तै, बेलडाँडी गाउँपालिका–१ सिद्धचोक निवासी ४५ वर्षीय ललित सिंह ठकुराठी अटो चालक रहेका थिए । उनको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि मायामेट्रो अस्पताल धनगढी रिफर गरिएको छ । अटो चालकका १८ वर्षीय छोरा हिक्मत ठकुराठी मध्यम घाइते भएका छन् ।
अटोमा सवार सोही स्थानकी ३६ वर्षीया सुशिला ठकुराठीको अवस्था सामान्य रहेको छ भने उनकी १५ वर्षीया छोरी आशिका ठकुराठी मध्यम घाइते भएकी छन् । उनलाई थप उपचारका लागि मायामेट्रो अस्पताल धनगढी रिफर गरिएको छ । अटोमा सवार २५ वर्षीया शोभा डाँगा पनि मध्यम घाइते भएकी छन् ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न अटो र स्कुटर नियन्त्रणमा लिएको छ ।
दुर्घटना भएको स्थान इलाका प्रहरी कार्यालय बेलडाँडीबाट करिब पाँच किलोमिटर उत्तरमा पर्दछ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

