
काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालका महिला तथा युवाहरूले उद्यमशीलतामा नवीनता ल्याएर प्रस्ताव गर्यो भने २५ लाखसम्मको सहुलियत पूर्ण कर्जा दिने बताएका छन् ।
सोमबार ललितपुर महानगरपालिकाद्वारा आयोजित चौथो उद्यमी महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले कानुन अथवा नीति नियमबाट नै उद्यमशीलतालाई प्रवर्द्धन गर्न आवश्यक रहेको भन्दै उद्यमशीलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
उनले ठुला ठुला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए । मन्त्री भण्डारीले महिलाहरू उद्यमशीलतामा बढी आकर्षण गर्नुपर्ने र आफ्नो क्षमताबाट आत्मनिर्भर हुनुपर्ने समेत बताए । उनले यो आर्थिक वर्ष भित्रै नेपालमा उत्पादन भएका स्रोत साधन देशभर फैलाउने कानुन ल्याउने दाबी गरे ।
उनले नेपालको उद्योगहरूको समस्या नै अरूमा आधारित हुनु नै नराम्रो पक्ष भएकाले अरूको भर पर्न नहुने बताए । उनले नेपालको लोकल मदिरालाई समेत विदेशमा बेच्ने तयारी गरिरहेको र अब नयाँ मोडालिटीका साथ अघि बढ्ने समेत बताए ।
उनले भने, ‘मुल्याकंन कहाँ हुन्छ भन्दा उत्पादित वस्तुको हुन्छ । आफ्नो उत्पादनको बजारीकरण गर्न आवश्यक छ । उद्यमशीलतालाई प्राथमिकतामा राखेर समस्यालाई समाधान गर्न आवश्यक छ । कानुन अथवा नीति नियमबाट उद्यमशीलतालाई प्रवर्द्धन गर्न आवश्यक छ । यति बेला नेपालमा आर्थिक पुँजीलाई जसरी प्रवर्द्धन गर्नुपर्ने हो त्यो हुन सकेन । ललितपुर महानगरपालिकाले आयोजना गर्दा लगानीको क्षेत्रको बजारीकरण भइरहेको छ । नेपालको उद्योग क्षेत्र प्रतिस्पर्धामा आउन सकेको छैन । नेपालको उद्योगहरूको समस्या नै अरूमा आधारित हुनु नै नराम्रो पक्ष हो । हामीले ठुला ठुला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिन आवश्यक छ।’ त्यसै गरी उनले नेपालमा महिलाहरूले उत्पादन गरेको उत्पादनको ट्याक्स फ्री भनेर महिलालाई प्रोत्साहन गर्नुपर्ने बताए ।