Harsamaya
चट्याङ लागेर झ्यारी गाउँमा १४ बाख्रा मरे, घरहरूमा क्षति
चट्याङ लागेर छायाँनाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाउँका किसान देवचन्द्र रावलका १४ वटा बाख्रा मरे ।

मुगु - बिहीबार परेको अविरल वर्षासँगै चट्याङ लागेर मुगुमा एक जना किसानले पालेका १४ बाख्रा मरेका छन् । 

बिहीबार दिउँसो चट्याङ लागेर छायाँनाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाउँका किसान देवचन्द्र रावलका १४ वटा बाख्रा मरेका हुन् । अन्य चारवटा बाख्रा घाइते छन् । 

एकैसाथ १४ बाख्रा मरेपछि देवचन्द्रले बाख्रा पालनबाट विस्थापित हुनु परेको छ । उनले नगरपालिका लगायत अन्य निकायबाट राहत पाए फेरि बाख्रा पालन गर्ने बताए । 

तीन घण्टा लामो भारी वर्षापछि आएको बाढीले सोही गाउँकी बासुरुपा रावलको घर भत्किएको छ । झ्यारी गाउँका अन्य धेरैजसो घरभित्रै बाढी पसेको छ । केही गाउँले विस्थापित समेत भएका छन् । 

२०७९ असोज महिनाको २४ र २५ गते आएको अविरल वर्षाले झ्यारी गाउँमा ठूलो क्षति पुर्याएको थियो । ०७९ कै बाढीले चर्किएकै घरमा बस्नुपर्ने बाध्यता खेपिरहेका स्थानीय जोखिम मोलेर अहिले बस्न बाध्य रहेको स्थानीय असल रावलले बताए ।

वर्षापछिको बाढीले पाक्दै गरेको जौं गहुँ बालीमा पनि क्षति पुगेको छ । घटनाको एकिन विवरण आउन भने बाँकी रहेको छ । रारा छायानाँथ नगरपालिकाका मेयर विष्णु कुमार भामले प्रहरी पठाएर घटनाको मुचुल्का उठाउने काम भइरहेको जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update