Harsamaya
खुल्यो पूर्व–पश्चिम राजमार्ग
रौतहटमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले गरेको चक्काजाम करिब सात घण्टा पछि खुलेको छ । 

रौतहट - रौतहटमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले गरेको चक्काजाम करिब सात घण्टा पछि खुलेको छ । 

चन्द्रपुर नगरपालिका–१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको सवारी साधनको ठक्करबाट मृत्यु  भएपछि आक्रोशित स्थानीयले बिहीबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म पूर्व–पश्चिम राजमार्गको बागमती सडक खण्डमा चक्काजाम गरेका हुन् ।

ठक्कर दिने सवारी साधनको पहिचान गरी कारबाही गर्नुपर्ने लगायतका माग राखी स्थानीयले चक्काजाम गरेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार राजमार्ग क्षेत्रमा जडान गरिएको सिसिटिभी क्यामरा मार्फत ठक्कर दिने सवारी साधनको पहिचान गरी कारबाही गरिने प्रतिबद्धतापछि चक्काजाम खुलेको हो । 

ठक्कर दिने सवारी साधन र चालक फरार भएकाले खोजी कार्य तीव्र परिएको उनको भनाइ छ ।

चक्काजामका कारण पूर्व–पश्चिम राजमार्ग भएर गुड्ने गाडी सडकमा नै रोकिएका थिए । सवारी साधनबाट गन्तव्य तर्फ हिँडेका यात्रुहरू भने बिचल्ली परेका थिए । अहिले पूर्व–पश्चिम राजमार्ग बाटो पुर्ण रुपमा खुलेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update