Harsamaya

काठमाडौं - आज नेपाललगायत विश्वभर विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । नेपालमा बालश्रम न्यूनिकरण गर्न सरकारले विभिन्न संघ सस्थासंग मिलेर काम गरिरहेको भएपनि केही क्षेत्रमा भने बालश्रम बढेको नै देखिन्छ  ।

सडक व्यापार, मोटरसाइकल र साइकल मर्मत, सामान ओसारपसार, घरायसी काम, भरिया, सीमामा अवैध सामान ओसारपसार, कपडामा जरी भर्ने लगायत क्षेत्रमा बालश्रम बढिरहेको छ  ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का नेपालस्थित कार्यालयमा राष्ट्रिय परियोजना संयोजक नारायण प्रसाद भट्टराईले बाल श्रमिक विरुद्ध समस्या समाधान गर्न आइएलओले सरकारी निकाय एवम स्थानीय तहसँग मिलेर काम गरिरहेको बताउँछन् । 

उनले २०२८ सम्म हरेक पालिकालाई बालश्रम मुक्त गर्ने लक्ष्य राखेको बताए । उनले सरकारले पनि बालश्रममुक्त पालिका भनेर घोषण गर्न सुरुवात गरिसकेकाले स्थानीय निकायदेखि नै बालश्रमिकलाई रोक्ने प्रयास भइरहेको बताउँछन् । 

उनले उक्त अभियान अन्तर्गत १५० वटाले स्थानीय तहले काम गरिरहेको र नौं वटाले बालश्रमिक मु्क्त नगरपालिका घोषण गरिसकेको साथै त्यसलाई दिगो रुपमा कायम गर्न स्थानीय सरकारले शिक्षा नीति जोड दिनुपर्ने बताए  ।  

उनले नेपालमा सबैभन्दा बढी बालश्रमिक कृषि क्षेत्र, इट्टा भट्टा, गलैँचा उद्योगमा रहेको बताए । उनले नेपालमा गरिबी र दैविक विपत्तिका कारण पनि जिविकोपार्जनका लागि पनि श्रममा लागेको जानकारी दिए । उनले बाल श्रममुक्त समाज निर्माण गर्न शिक्षाको आवश्यकता रहेको बताए ।

‘क्षेत्रगत हिसाबले हेर्ने हो भने बालश्रमिक बढेको भनेको कृषि क्षेत्रमा हो । २०१७ को तथ्याकं अनुसार ११ लाख बालबालिका मध्य ८७ प्रतिशत बालबालिका कृषि क्षेत्रमा संलग्न रहेको देखाँउछ । त्यसबाहेक निर्माण एवम उत्पादन क्षेत्रहरुमा पनि लाग्ने गरेका छन् । जस्तै इट्टा भट्टामा, गलैँचा उद्योगतिर बढी बालबालिका प्रयोग भएका छन्,’ उनले भने,‘वालश्रमका पनि विभिन्न प्रकारका छन् । एउटा साधारण बालश्रम र अर्को निकृष्ट प्रकारका बालश्रम हो । निकृष्ट किसिमको बालश्रम भनेको बालबालिका अवैध काममा लाग्ने, बालबालिकालाई अश्लिल सामग्री उत्पादनमा प्रयोग गर्ने काम भयो भने जोखिमपूर्ण काम कारबाहीमा लागेका बालबालिकालाई निकृष्ट किसिमको बालश्रम भनिन्छ । गाँउबाट सहर सानै उमेरमा आएर काम गर्दै पढ्ने हिसाबले काम गर्छन् । त्यो पनि एउटा फरक किसिमको बालश्रम हो ।’

२०१७ र०१८ मा विश्व श्रमशक्ति संगठनको तथ्यांकको अनुसार झण्डै ११ लाख भन्दा बढी बालबालिका श्रममा लागेका छन् । नयाँ तथ्यांक दुई वर्षपछि आउनेछ । तर तथ्यांक अनुसार बालश्रमिकको संख्या घटिरहेको छ र अझै घट्ने अवस्था रहेको उनले जानकारी दिए । 

‘गरिबी र दैविक विपत्तिका कारण पनि जिविकोपार्जन गर्नका लागि पनि श्रममा वालबालिका श्रममा लाग्ने गरेका छन् । जसका कारण बालश्रमिकको संख्या केही बढेको जस्तो देखिन्छ । बाल श्रम मुक्त समाज निर्माण गर्न शिक्षाको आवश्यकता पर्छ । गरिब, विपन्न परिवारका बालबालिकालाई बढी प्राथमिकतामा राख्यो भने बाल श्रमिकको सख्यां घट्न सक्छ,’ उनले अगाडि भने,‘यसका लागि आइएलओले सरकारी निकाय अर्थात स्थानीय सरकारसँग मिलेर काम गरिरहेको छ ।  २०२८ सम्म बालश्रम मुक्त गर्ने लक्ष्यपनि राखेको छौँ । सरकारले पनि बालश्रममुक्त पालिका भनेर घोषण गर्न थालिसकेको छ ।’

स्थानीय निकायदेखि नै बाल श्रमिक राख्ने एवम वालवालिकालाई श्रममा लगाउने कामबाट मुक्त गराउने अभियानमा मन्त्रालयले पनि काम गरिरहेको उनले जानकारी दिए ।

‘नेपाललाई वालश्रममुक्त बनाउनका लागि आइएलओले स्थानीय सरकारसँग समन्वय गरिरहेको छ । केही पालिकाले बालश्रम मुक्त घोषण गरिसकेकाले यसलाई सकरात्मक रुपमा लिन सकिन्छ,’ उनले भने । 

श्रमलाई विभिन्न तरिकाले परिभाषित गरिएको छ । शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झैँ गर्ने शारीरिक अथवा मानसिक श्रम भनिएको छ ।

जुनसुकै खालको रोजगारयुक्त कार्य, जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्दछ, स्कुल जान अवरोध पुग्दछ अथवा मानसिक, सामाजिक र शारीरिक रूपमै बालबालिकालाई असर पुर्याउने नियमितका कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई बालश्रम भन्ने गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update