Harsamaya

काठमाडौं - आज दिउँसो टोखाको ग्राण्डी अस्पताल नजिकै गोली चल्दा दुईजना घाइते भए । मंगलबार दिउँसो लागू औषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको थियो । 

तर  एक्कासी  गोली  चल्दा  घटनास्थल नजिकै रहेका प्रत्यक्षदर्शीहरूले अत्तोपत्तो  पाउन सकेनन् ।  घटना स्थलमा बुझ्दा  प्रत्यक्षदर्शीहरूले  प्रहरीहरू ड्रेसमा नभएकाले सुटिङ भइरहेको जस्तो लागेको बताए । 

घटनास्थल नजिकै पसल चलाउँदै आएकी नानीमुया कार्कीले पहिला बाइकको जस्तो आवाज आएको र बाहिर हेर्दा गोली लागि दुईजना ढलेको देखेको बताइन् । 

उनले भनिन्,‘म त्यति बेला पसल भित्र थिए । ठ्याक्कै गोली चल्यो बाहिर गएर हेरे मलाई त सुटिङ जस्तो लाग्यो । गोली चलेपछि मान्छे लडेको देखे । त्यति गर्दा नि सुटिङ नै जस्तो लाग्यो मलाई त । गोली हान्ने मान्छेले माथि आकाशतिर फाइरिङ गरेको देखे मैले । त्यो देखेर म दौडिएर भित्र आए । गोली खुट्टामा लागेको थियो । प्रहरीहरू ड्रेसमा थिएनन् सिभिलमा थिए । हामीले त प्रहरी जस्तो पनि लागेको थिएन । पहिला त बाइकको जस्तो आवाज आएको थियो । मान्छे लडिरहँदा पनि मैले चै सुटिङ नै सोचे । यो रियल भन्ने पछि मात्र थाहा पाए । रगत देख्दा पनि रंग जस्तो लाग्यो । प्रहरी माथिको आक्रमण भएको हामीले देखेनौँ । दुईजना मान्छे ढलेको मात्र देखे ।’

यसैगरी नजिकै कपडा सिलाइरहेकी अर्की प्रतक्षदर्शी सुटिङ भनेर अगाडि नै हेर्न गएको र दुई जना खुट्टामा गोली लागेर ढलेको देखेर डराएको सुनाइन् । ‘प्रहरी सिविल ड्रेस भएकाले सुटिङ चलिरहेको जस्तो लाग्यो । सुटिङ भनेर म अगाडि गए प्रहरीले मलाई ए भाग भाग यताबाट भाग रे दुई जना खुट्टामा गोली लागेर ढलेका थिए । त्यो देखेर चैँ डर लाग्यो । त्यति बेला म मात्र थिए । निलो गाडीले छेकेर मैले गोली चलाको चै देखिन्,’उनले भनिन् ।

घाइते भएका लागू औषध कारोबारीलाई ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update