
काठमाण्डौं - हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने दिन आज सम्म मात्र रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २८ गते (भोली) एक दिनका लागि बुक क्लोज गर्दै छ । सोहि कारण आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीहरू मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्न आगामी असार १० गते काठमाण्डौंको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि साधारण सभा आयोजना गर्दै छ ।
उक्त सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।