Harsamaya
हजयात्राका क्रममा  १३ इरानीको मृत्यु

तेहरान - साउदी अरबमा बढ्दो तापक्रमका कारण हज यात्रामा रहेकामध्ये कम्तीमा १३ जना इरानी नागरिकको शनिबार मृत्यु भएको छ । हालैका दिनहरूमा साउदी अरबका पवित्र सहरहरूमा तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले गर्दा हज यात्रीहरूले व्यापक गर्मीको सामना गर्नुपरेको समाचार एजेन्सी इर्नाले जनाएको छ । इरानी रेड क्रिसेन्ट सोसाइटीको स्वास्थ्य तथा उपचार सञ्चालन एकाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०२५ को हज यात्राका क्रममा शुक्रबारसम्म मृत्यु भएका इरानी हज यात्रीको कुल संख्या १३ पुगेको छ ।’

इर्नाका अनुसार यस वर्ष हज यात्राका लागि ८६ हजार ७ सय इरानी साउदी अरब गएका छन् । शनिबार जारी विज्ञप्तिमा तीर्थयात्रीलाई प्रत्यक्ष सूर्यको प्रकाशबाट जोगिन, शरीरमा पानीको मात्रा कम हुन नदिन र गर्मीको जोखिम कम गर्न तथा अन्य सावधानीहरू अपनाउन पनि इरानले सल्लाह दिएको छ ।

गत वर्षका हज यात्राका क्रममा पनि साउदी अरबमा २२ इरानीसहित कम्तीमा १ हजार २ सय तीर्थ यात्रुको मृत्यु भएको थियो । सो वर्ष हज यात्राका समयमा साउदी अरबको तापक्रम ५१.८ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जलवायु परिवर्तनका कारण बर्सेनि कम्तीमा ५ लाख मानिसको मृत्यु हुने गरेको आकलन गर्दै मृत्यु हुनेको वास्तविक संख्या ३० गुणासम्म हुन सक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update