Harsamaya
यातायात क्षेत्रमा हड्ताल नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश 
सर्वोच्च अदालत ।

काठमाडौं - यातायात क्षेत्रमा हड्ताल नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।  बुधबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले अल्पकालीन आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । 

जेठ १९ गतेदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमवली विरूद्ध देशव्यापी आन्दोलन सुरू गरेको  थियो ।

उक्त आन्दोलन विरुद्ध अधिवक्ता  विवेक पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।  

सार्वजनिक यातायात अत्यावश्यक सेवा क्षेत्र भएकाले त्यसमा हड्ताल गर्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै सेवा बन्द गर्नु संविधान विपरीत रहेको दाबीसहित रिटमा तत्काल सार्वजनिक यातायात सुचारु गर्न अन्तरिम आदेशको माग गरिएको छ । 

जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात ठप्प पारिँदा विद्यार्थी, बिरामी, कर्मचारी, शिक्षकलगायत हजारौँ नागरिकको आवतजावतमा गम्भीर असर परेको रिटमा उल्लेख गरिएको छ ।

संविधानको धारा १७ को उपधारा २ मा प्रत्याभूत आवतजावत, पेसा र रोजगारमा बाधा पुगेको उल्लेख गर्दै यातायातमा भएको हड्तालले आम जनताको मौलिक हकमै हस्तक्षेप भएको रिट निवेदनमा भनिएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update