काठमाडौं - सरकारले निजामती कर्मचारीको हित विपरीत विभेदपूर्ण रूपले संघीय निजामती सेवा ऐन जारी गर्ने तयारी गरेको भन्दै निजामती कर्मचारीहरूले गर्दै आएको आन्दोलन आज (बुधबार) पनि जारी राखेका छन् ।
लामो समयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारीहरूले धर्ना दिँदै आएका छन् । मन्त्रालय धर्ना दिन पुगेकी नेपाल निजामती कर्मचारी संगठनकी केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले संघीय निजामती सेवा ऐन प्रसव वेदनामा छट्पटाइरहेको र जन्मन नपाएको बताइन् ।
‘निजामती कर्मचारीहरूलाई निर्देशन गर्ने मुख्य ऐनको रूपमा रहेको खास गरेर कर्मचारीलाई मात्र नभई समग्र निजामती कर्मचारी, प्रशासनलाई दिशा निर्देश गर्ने मुख्य ऐन संघीय निजामती सेवा ऐन प्रसव वेदनामा छट्पटाइरहेको छ । जन्मन पाएको छैन सकुशल जन्मियोस् भन्नको लागि यो आन्दोलन गरिएको हो,’उनले भनिन् ।
यसैगरी मन्त्रालय अगाडि धर्नामा बसेका नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ वलीले संघीय निजामती सेवा ऐन चाँडै जारी गरी सबै खाले कर्मचारीका विषय समेटिनुपर्ने बताए ।
उनले भने, ‘हाम्रो १० बजेदेखि ११ बजेसम्म मात्र धर्ना कार्यक्रम हो, यो आन्दोलन हैन । हामी आन्दोलनको सामान्य स्वरूपमा मात्र छौं । यो सुरुवाती चरण मात्र हो । यो सांकेतिक विरोध मात्र हो । संघीय निजामती सेवा ऐन चाँडै आओस् । संघीय निजामती सेवा ऐनमा स्थानीय, प्रदेशमा समायोजन भएका साथीहरू, संघका पीडित साथीहरू करार, ज्यालादारी सबैका विषय समेटियोस् भनेर हामी खबरदारी गर्न आएका हौं ।’ उनले राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको ऐन रोक्नको लागि उच्च प्रशासन लागेको पनि बताए ।