Harsamaya
पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध  भ्रष्टाचार मुद्दा
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारी ।

काठमाडौं - सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालतमा आरोपपत्र पेश गरेको हो।

सोडारीलाई मात्र होइन, उनका परिवारका सदस्यहरू श्रीमती गीता सोडारी र छोरा बबि सोडारीलाई समेत अनुसन्धानको घेरामा ल्याएको छ।

आयोगले सोडारी परिवारको नाममा रहेको सम्पत्ति विशेषगरी श्रीमती र छोराको नाममा खरिद गरिएका जग्गा, निर्माणाधीन घर, भित्री सजावट तथा बैंक खातामा रहेको मौज्दात रकमसमेत स्रोत पुष्टि नभएको भन्दै जफत गर्न माग गरेको छ। सोडारीले सार्वजनिक पदमा रहँदाका बखत आर्जन गरेको आयभन्दा झण्डै १ करोड ८ लाख रुपैयाँ बढी खर्च देखिएको र ती खर्चहरू वैध स्रोतबाट नभएको प्रमाणसहित आयोगले विशेष अदालतमा आरोपपत्र पेश गरेको हो।

यो मुद्दाले केवल एक पूर्वमुख्यमन्त्रीको भ्रष्टाचारलाई मात्र उजागर गरेको छैन, राजनीतिक व्यक्तिहरूले पारिवारिक सदस्यहरूलाई प्रयोग गरी सम्पत्ति लुकाउने चलन पनि पुनः सतहमा ल्याएको छ। यो मुद्दाले यस्तो प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update