
जनकपुर - जनकपुर - मधेश केन्द्रित साना पाँच दलहरु मिलेर ‘संघीय गणतान्त्रिक गठबन्धन’ बनाएका छन् । बिहीबार जनकपुरधाममा गठबन्धन घोषणा समारोह गर्दै मधेश केन्द्रित ५ दलहरूले गठबन्धन घोषणा गरेका छन् । गठबन्धनमा रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी रहेका छन् ।
घोषणा समारोहमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवम पूर्व गृहराज्यमन्त्री अन्सारीले गणतन्त्रको नाममा सत्ताको खेल मात्र भइरहेको भन्दै गणतन्त्रको वास्तविकतालाई स्थापना र रक्षा गर्न गठबन्धन बनाएको बताए । उनले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेको आरोप समेत लगाए ।
कथित मधेशका मसिहा कहलाउनेहरूले शहीदहरूको बलिदानलाई सत्तासँग साट्ने काम मात्र गरेको उनको आरोप छ । उनले दलाल पुँजीपति, भ्रष्ट नेता र कर्मचारीहरूका कारण देशमा गणतन्त्रको अवस्था निकै खराब रहेको बताए । अन्सारीले जनताको गणतन्त्र निर्माण र स्थापना गर्नका लागि आफूहरूले गठबन्धन गरेको दाबी गरे । उनले देशमा जसको भोट त्यसकै राज हुने गरी वातावरण निर्माण गर्ने प्रतिबद्धता जाहेर गरे ।
उनले आफूहरूको गठबन्धन इच्छाले नभई जनता र मधेशको अधिकार सुनिश्चित गर्न गरिएको उल्लेख गरे ।