
काठमाडौं - आर्थिक वर्ष २०८२/०८३ को बजेट आज दिउँसो ३ बजे सार्वजनिक हुँदै छ । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएर बजेटका सिद्धान्त र प्राथमिकता समेत संसद्बाबट पास भएसँगै सरकारले आज बजेट ल्याउन लागेको हो ।
आज दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको लागि बजेट पेस गर्ने कार्यसूची रहेको छ । नेपालको संविधानअनुसार जेठ १५ गते अर्थमन्त्रीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्ने व्यवस्था छ । उक्त व्यवस्थाबमोजिम सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको हो ।
संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २:४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ । त्यसअघि प्रतिनिधिसभाको अपराह्न १:३०मा हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ । त्यसै गरी राष्ट्रियसभाको अपराह्न १:४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२/०८३ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।