
काठमाडौं - वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन सिटौलाको जीवनमा आधारित रहेर शारदा मासिकले प्रकाशित गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ ।
राजधानीमा सोमबार समाजका लव्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा संयुक्त रूपमा उक्त पुस्तक विमोचित भएको हो । पुस्तक विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले पुस्तकले सिटौलाको योगदानको ध्यानाकर्षण गराउन मद्दत पुग्ने बताए ।
उनले सिटौलाका बारेमा अझ ठूलो वृहत् पुस्तक निकाल्ने तयारी भइरहेको भन्दै यो पुस्तक उक्त वृहत् पुस्तकलाई पूर्ण रूप दिन महत्वपूर्ण खुराक हुने बताए । कार्यक्रममा पुस्तक समीक्षा गर्दै प्राडा देवी नेपालले पाँच खण्डमा विभाजित पुस्तकमा ५० नेपालीमा, ४ अंग्रेजीमा र चार शुभकामना सहितका गरी ५८ लेखकका लेख रहेको भन्दै हरेक व्यष्टि (अंश) मिलेर समष्टि (पूर्ण)भएको बताए ।
लेखकहरूले सिटौलालाई ‘नयाँ मुलुकका नाद’, बहु प्रतिभाका धनी, सिद्धिसुधा, चुचुरोका मान्छे, पीडाका पहाड फोर्दै उज्यालो रोप्ने, महारथी, विश्वमानव लगायतका उपमा दिएका छन् । कार्यक्रममा अर्का समीक्षक प्राडा हेमराज पौडेलले सिटौलाको जन्मदेखि पारिवारिक पृष्ठभूमि केलाएका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं पूर्व क्याम्पस प्रमुखसमेत रहेका सिटौलाका ११ पुस्तक प्रकाशित भइसकेका छन् । उनी ८२ वर्षको उमेरमा थप सक्रिय रहेर साहित्यका लागि निरन्तर लागिपरेका छन् ।
अमेरिकामा रहेका सिटौलाले आफू समेटिएको पुस्तक काठमाडौंमा विमोचित हुँदा अमेरिकाबाटै सम्बोधन गरेका थिए । पुस्तकको सम्पादन शारदाका प्रकाशक–सम्पादक विमल भौकाजीले गरेका हुन् । पुस्तक मोहन सिटौलालाई चिनाउनेमात्र नभइ देशभरको सिटौला समाजको प्रतिनिधि पुस्तक भएको दाबीसमेत गरिएको छ ।