Harsamaya
मकवानपुरमा बसको ठक्करले ३ जनाको मृत्यु, ३ जना घाइते
मकवानपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

हेटौँडा - मकवानपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार अपराह्न बज्रबाराहीको गोपाली गाउँबाट थाना बजार तर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिँडिरहेका ६ जनालाई ठक्कर दिएको थियो । ती मध्य तीन जनाको मृत्यु भएको हो ।

बसको ठक्करबाट स्थानीय झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर, लेखापढी गर्ने कृष्ण बलामी र झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । घाइते मध्य ठाकुर र बलामिको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा मृत्यु भएको छ भने यादवको ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।

उक्त घटनामा बाराको जितपुर सिमरा घर भएका अन्दाजी ३२ वर्षीय छेयाङ दोर्ज लामा र बाराको कोल्वी घर भइ झम्केस्वरी माविमै पढाउने शिक्षक अन्दाजी ३० वर्षीय रामगुलाम चौधरी घाइते भएका छन् । घाइते दुवैको पालुङमा उपचार भइरहेको छ र कमलेश कुमार साहको काठमाण्डौ ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बसले थाहा नगरका उप प्रमुख भरत गोपालीको घरमा समेत क्षति पुगेको छ । बस पैदल यात्रीलाई ठक्कर दिएर घरको पर्खालमा ठोक्किन पुगेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update