
काठमाडौं - गृहमन्त्री रमेश लेखकले गृहमन्त्री पदबाट राजीनामा दिन तयार भएको बताएका छन् । आफ्नो कारण पार्टी समस्यामा पर्ने भए आफू पदबाट राजीनामा दिन तयार भएको उनले बताएका हुन् ।
सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा उनले ‘चल्तीमा रहेको भिजिट भिसा प्रकरणले’ पार्टीलाई समस्या पर्दछ भने आफूले पद त्याग गर्ने बताएका हुन् ।
‘बैठकमा उहाँले ब्रिफिङ्ग गर्दै पार्टीलाई मेरो कारणले समस्या परेको भए राजीनामा दिएर फिर्ता आउँछु भनेर स्पष्ट रूपमा बोल्नुभयो‚’ बैठकमा सहभागी एक देउवा निकट पदाधिकारीले भने ।
बैठकमा गृहमन्त्री लेखकले पार्टीभित्रैबाट शेखर कोइराला लगायत नेताले आफूलाई राजीनामा दिनुपर्छ भन्दै अभिव्यक्ति दिएर प्रेसर क्रियट गरेको बताएका थिए । ती पदाधिकारीका अनुसार नेता लेखकले पटक पटक आफू निर्दोष भएको दाबी गर्दै पार्टीलाई समस्या परे राजीनामा दिने स्पष्ट पारेका थिए ।
तर‚ सभापति देउवाले गृहमन्त्री लेखकलाई जवाफ दिँदै राजीनामा दिनुपर्ने अवस्था नभएको स्पष्ट पारेका थिए । अरू गृहमन्त्रीले पनि विभिन्न आरोप खेपेको भन्दै देउवाले पार्टीले सहयोग गर्ने बताएको ती पदाधिकारीले जानकारी दिए ।
‘अरू गृहमन्त्रीले विभिन्न आरोप खेपेका छन् । आरोप लाग्दै गर्छ‚’ देउवाको भनाई उद्धृत गर्दै ती पदाधिकारीले थपे‚ ‘राजीनामा दिनुपर्दैन । पार्टीले साथ दिन्छ ।’
अनि शेखरसहित नेतालाई अनुशासनको कारबाहीको माग
लेखकले बोलेर आफूलाई पार्टीकै वरिष्ठ नेताले सार्वजनिक स्थलबाट राजीनामा माग भएको दुखेसो पोखेपश्चात् शेखर सहित नेताहरूलाई अनुशासन कारबाही गर्नुपर्ने विषय उठेको थियो । नेता कोइराला सहित सांसदहरू सुनिल शर्मा र राजेन्द्र वजगाँईमाथि कारबाहीको माग भएको थियो ।
पूर्व महामन्त्री शशांक कोइरालाले पार्टी अनुशासनमा बस्नुपर्ने भन्दै सभापति देउवा यस विषयमा गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।
बैठक पश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै नेता डाक्टर कोइरालाले स्वयम् गृहमन्त्री रमेश लेखक विरूद्ध बोलेको भन्दै दाइ शेखर कोइराला तथा सांसदहरू सुनिल शर्मा र राजेन्द्र बजगाईंलाई अनुशासनको कारबाही गर्नुपर्ने आफूले सभापति सँग भनेको स्पष्ट पारेका थिए ।
‘हामी सभापतिलाई तपाईँले उहाँहरूलाई बोलाउनुस्, सोध्नुहोस् के भएको हो? भन्ने यसको त समाधान निकाल्नुपर्यो नि। एक आपसमा मुठभेड गरेर कसको फाइदा हुन्छ पार्टीमा? त्यसैले उहाँलाई स्पष्टीकरण माग्नुस् भनेका हौँ‚’ शशांकले भने ।
कोइराला काठमाडौँ आएपश्चात् देउवाले बोलाउने तयारी
पार्टी प्रमुख सचेतक श्याम घिमिरेका अनुसार गृहमन्त्रीविरूद्ध बोलेको भन्दै डा शेखर कोइरालालाई सभापति शेरबहादुर देउवाले मंगलबार साँझसम्म भेटेर कुरा गर्ने तयारी भएको छ ।
शेखर हाल पार्टी कार्यक्रमका लागि कोशी प्रदेशको ताप्लेजुङमा छन् । उनी काठमाडौं आइपुगे पश्चात् बोलाउने तयारी भएको घिमिरेले जानकारी दिए ।
'शेखर कोइराला अहिले काठमाडौं बाहिर हुनुहुन्छ उहाँ १५ गते काठमाडौं फर्किने भन्ने छ,' उनले भने, 'उहाँ फर्किएपछि सभापतिले बूढानीलकण्ठ बोलाएर कुरा गर्ने(स्पष्टीकरण सोध्ने) भन्नेछ।'
उनका अनुसार प्रतिपक्षीले भन्दा पहिले नै राजीनामा किन मागेको भन्ने विषयमा शेखरलाई स्पष्टीकरण सोध्न लागिएको हो। शेखरले पनि सार्वजनिक रूपमै गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न उपयुक्त हुने बताएका थिए ।
गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकरणमा जोडेर राजीनामा माग भइहरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोटो रकम उठाएर भिजिट भिसाको दुरूपयोग गरी मानिसलाई विदेश पठाउन सहजीकरण गर्ने गरेको सूचनापछि अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको थियो।
सो क्रममा अख्तियारले अध्यागमनका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छाडेको थियो। अख्तियारले उनको मोबाइल लगायत डिभाइसलाई नियन्त्रणमा लिएर प्रयोगशालामा पठाएको छ। सो प्रकरण पश्चात् गृहमन्त्री लेखक पनि संलग्न भएको भन्दै उनको राजीनामा माग भइरहेको छ ।
पार्टीले भने गृहमन्त्री लेखकलाई बचाउन ‘काँधै थाप्ने’ निर्णय गरेको छ । कर्मचारीले गरेको गल्तीको भागिदार मन्त्री बन्नु नपर्ने निष्कर्श कांग्रेसको छ ।