
सिन्धुपाल्चोक - गणतन्त्र दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लामा आगामी जेठ १४, १५ र १६ गते (तीन दिन)सम्म विविध कार्यक्रम आयोजना गरिने भएको छ। जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको संयोजकत्वमा गणतन्त्र दिवस जिल्ला समारोह समिति गठन गर्दै कार्यक्रम तय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय चौतारामा सम्पन्न बैठकमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालय प्रमुख, पत्रकार महासंघका प्रतिनिधि, विभिन्न संघसंस्था, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजका व्यक्तिहरूको सहभागिता रहेको थियो।
बैठकले गणतन्त्र दिवसलाई उत्सवमय बनाउन विभिन्न सामाजिक, सांस्कृतिक, स्वास्थ्य र खेलकुद गतिविधिहरू आयोजना गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार सञ्चालन गरिने कार्यक्रमहरू यस्ता छन्:
जेठ १० गते – जनस्वास्थ्य कार्यालयद्वारा जिल्ला कारागारमा क्षयरोगलगायत नसर्ने रोगको परीक्षण गरिने।
जेठ १४ देखि १६ गतेसम्म – जिल्ला स्थित सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय र संघसंस्थाहरूले कार्यालय परिसरमा राष्ट्रिय झण्डा सजाउने, सरसफाइ गर्ने र साँझ दीप प्रज्वलन गर्ने।
जेठ १४ गते बिहान ६:३० बजे – ५ कि.मी. खुला दौड, ४० वर्षमाथिको दौड, र ३ कि.मी. महिला दौड प्रतियोगिता।
जेठ १४ गते बिहान ८ बजे – चौतारास्थित नारायणस्थान, कृष्ण मन्दिर र बनदेवी मन्दिरमा सरसफाइ अभियान।
जेठ १४ गते साँझ ४ बजे – चौतारास्थित टुंडिखेलमा कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल खेल।
जेठ १५ गते बिहान ७ बजे – भिन्तुना चोकबाट सुरु भई फल्चा बजारसम्म प्रभातफेरी तथा र्याली, त्यसपछि गणतन्त्र दिवसको महत्वमाथि मन्तव्य तथा खेलकुद विजयीहरूलाई पुरस्कार वितरण।
जेठ १५ गते – शिक्षा विकास तथा समन्वय इकाइद्वारा फरक क्षमताका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण।
प्रभातफेरीपश्चात – चौतारा अस्पतालका बिरामीहरूलाई फलफूल वितरण तथा वृद्धाश्रममा खाद्यान्न र स्वास्थ्य परीक्षण कार्यक्रम गरिने ।
जेठ १५ गते साँझ ७ बजे – जिल्लाका प्रमुख सार्वजनिक र सांस्कृतिक स्थलहरूमा दीप प्रज्वलन।
कार्यक्रम व्यवस्थापनको लागि खर्च – चौतारा साँगाचोकगढी नगरपालिकाले व्यवस्थापन गर्ने। अन्य पालिकाहरूले पनि आफ्ना क्षेत्रमा सुरक्षाकर्मी र सरोकारवालाको सहभागितामा गणतन्त्र दिवस मनाउने।
सुरक्षा व्यवस्था – सम्पूर्ण कार्यक्रम अवधिभर सुरक्षा निकायबाट सुरक्षा व्यवस्था मिलाइने।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले सम्पूर्ण जिल्लावासीलाई गणतन्त्र दिवसका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।