Harsamaya
बागमती प्रदेशसभाको बैठक स्थगित
 बागमती प्रदेशसभा।

हेटौंडा - बागमती प्रदेशसभाको सबै विषयहरु कार्य सूचीबाट हटाइएको छ। सोमबार प्रदेशसभामा पेस गर्नका लागि तयार गरेका विषयहरू कार्यसूचीबाट हटाएर बैठक स्थगित गरिएको हो।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठकमा रुलिङ गर्दै कार्य सूचीमा समावेश गरिएका विषयहरू हटाइएको जानकारी दिए । उनले प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।

बैठकमा प्रदेश चलचित्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने कार्यसूची रहेको थियो भने संसदीय समितिबाट पारित भई तयार भएका ४ विधेयकका प्रतिवेदन पेस हुने कार्यसूची रहेको थियो ।

सत्तापक्ष र प्रतिपक्ष दल बिचको सहमतिका विषयहरू टुङ्गिन नसक्दा बैठक स्थगित गरिएको हो । प्रदेशसभाको वर्षे बजेट अधिवेशन सञ्चालनका लागि मुख्यमन्त्री बहादुरसिंह लामाले पटक पटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन ।

आइतबार र बुधवार मात्र मुख्यमन्त्री लामाले पटक पटक सर्वदलीय बैठक आह्वान गरी बैठक सञ्चालनको वातावरण तयार पार्ने प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन सकेको छैन ।

सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलबिच विगतका सहमति कार्यान्वयन र संसद्को हिउँदे अधिवेशनका विषयमा कुरा मिल्न सकेको छैन । चालू आर्थिक वर्षको बजेट कार्यक्रममा प्रतिपक्ष दलसँग सरकारले गरेको सहमति कार्यावयन नभएको र संसद् आह्वान गरेर बैठक सञ्चालन नगरी अधिवेशन अन्त्य गरेको भन्दै प्रतिपक्ष दल असन्तुष्ट बन्दै आएको छ ।

सो विषयमा प्रतिपक्ष दलहरूले सरकारको स्पष्ट धारणा माग गरेका छन् । सरकारको जवाफ सन्तोषजनक नभएसम्म बैठक चल्न नदिने प्रतिपक्ष दलको अडान छ ।

बागमती प्रदेशमा एमालेसँगको साझेदारीमा कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री रहेका छन् भने प्रतिपक्ष दलमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी रहेका छन् । प्रतिपक्ष दलको मागको सन्दर्भमा नेमकिपा र हाम्रो नेपाली पार्टी सहभागी छैनन् ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update