Harsamaya
मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो : अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।

दैलेख - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्ष गरेका छन् । उनले राजनीतिक दल, व्यवसायी, पत्रकार, कर्मचारी सबैको सक्रियताले अभियान सर्वपक्षीय बनेको उल्लेख गर्दै अभियानलाई थप गतिशील बनाउन सबै पक्षको सहभागिता आवश्यक रहेको बताए ।

दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष दाहालले उक्त खण्ड सबैभन्दा लामो भएको बताए । उनले उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यावसायिक तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ अघि सारिएको स्पष्ट पारे ।

‘मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्दै पहाडी क्षेत्रमा व्यवस्थित सहर निर्माण तथा पर्यटन र उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो,’ अध्यक्ष दाहालले भने, ‘तर, वैदेशिक रोजगारी र बसाइसराइको क्रम यथावत् रहनु चिन्ताको विषय हो ।’

कार्यक्रममा उद्योग वाणिज्य संघ, दैलेखले जिल्लाका प्राथमिक आवश्यकतासहितको माग पत्र अध्यक्ष प्रचण्डसमक्ष बुझाउँदै, मध्यपहाडी लोकमार्ग अभियान अघि बढाएकोमा कृतज्ञता व्यक्त गरेको थियो। सहभागीहरूले उक्त अभियानले दैलेखको विकास सम्भावनालाई मूर्तरूप दिन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update