‘दिए पुग्छ’ मेरो तेस्रो कृति हो । ‘सम्भव छ’, ‘नेपालमै सकिन्छ’ पछि तेस्रो कृतिमा रूपमा ‘दिए पुग्छ’ बजारमा आएको हो । पुस्तकहरू विशेष गरी सत्य कथामा आधारित कथाहरू मात्रै लेखिरहेको छु । पुस्तकमा वास्तविक पात्रहरू हुनुहुन्छ । र वास्तविक पात्रहरूका वास्तविक कथाहरू समेट्ने प्रयास गरेको छु । ‘सम्भव छ’ उद्यमशीलतासँग सम्बन्धित पुस्तक हो यो । ‘दिए पुग्छ’ चाहिँ सेवा भावसँग सम्बन्धित छ । म आफू पनि वास्तविक पात्रका विषय पढ्न रुचाउँछु ।
मान्छेहरूलाई लाग्न सक्छ मैँले धेरै पुस्तकहरू पढ्छु भन्ने । तर म पुस्तक भन्दा पनि वास्तविक घटना पढ्न रुचाउँछु । समाज पढ्न रुचाउँछु । समाजभित्र भएका मसिनसँग बोल्न रुचाउँछु । तीन जना वा चार जनासँग बोल्नु भनेको एक पुस्तक पढ्नु बराबर हो । म हरेक किसिमका व्यक्तिहरूसँग गफ गर्न रुचाउँछु । किनकि उहाँहरूसँग धेरै कथाहरू हुन्छन् । सडकमा सुत्ने सबै रक्सी खाएर सुतेका हुँदैनन् । कोही थकाइले सुतेका हुन्छन्, कोही बिरामी भएर सुतेका हुन्छन् । त्यसैले सबैको सोच बदल्न आवश्यक छ । जब म कुनै पात्रको कथा लेख्छु लेखेर सकिएपछि लेखकीय भनाई पनि लेख्ने गरेको छु । सबैभन्दा धेरै सन्तुष्टि मलाई लेख्दाखेरि मिल्ने गरेको छ ।
मेरो नयाँ पुस्तक ‘दिए पुग्छ’को सार भनेको धन–सम्पत्ति दिने हो कि, धनी मान्छेले केही दिने हो कि जस्तो लाग्ने रहेछ । तर पुस्तकबाट मैले दिन खोजेको सन्देश चाहिँ के हो भने मानिस कोही अपाङ्ग हुन्छ, कोही मानसिक रोगी हुन्छ, कोही गरिब हुन्छ, यी सबै मानिसको जीवनस्तर बदल्नको लागि सहारा, आँट, हौसला दिए पुग्छ भन्न खोजेको हो । मान्छेहरूलाई साथ दिनुपर्छ, माया र हौसला दिनुपर्छ भनेको हुँ । कसैलाई यी सबै कुरा दिँदा कोही रित्तिएर जाँदैन भन्न खोजेको हो । तर पाठकहरूले के कसरी बुझ्नुहुन्छ त्यो फरक कुरा हो ।
पुस्तक पढ्दै जाँदा एकदमै कहाली लाग्दा कहानीहरू भेटिन्छन् । जो वास्तविक कथाहरू हुन् । मान्छे कस्तो अवस्थाबाट कस्तो अवस्थासम्म पुग्न सक्छ भन्ने कुरा यस पुस्तकबाट पाउन सकिन्छ । यस्ता कथाहरू पढ्दै गर्दा त्यस्ता कहाली लाग्दा घटना बदल्नेहरू पनि भेटिन्छन् । जस्तै सडकमा भेटिएका मान्छेलाई कसैले दिएको साथ सहयोग र हौसलाले जीवन बदलिसकेको कथा पुस्तकमा छ । घरबार विहीन भएर सडकमा बसेकाहरूको घर परिवारसम्म पुगेको र उनीहरूलाई छाडेर जानुभएका अधुरा कार्यहरू छन् । ती कार्यहरूलाई हामीले दृढतापूर्वक अगाडि बढाउनुपर्ने आजको आवश्यकता पुस्तमा समेटिएको छ ।
‘दिए पुग्छ’मा त्यस्ता कहानीहरू पनि छन् जहाँ समाजले जँड्याहा, बेबारेसरि जस्ता नाम दिएका हुन्छन् । उनीहरूको कथा छ । र कसैलाई दुर्व्यसनबाट बाहिर आउन मन छ समाजले निस्कन दिइरहेको छैन । तर कसैले दिएको साथ सपोर्टले गर्दा माथिल्लो तहमा पुग्न सकेकाहरूको प्रेरणादायी कहानी पनि यसमा समेटिएको छ ।
पारिवारिक घटना कसलाई पो नपर्ला । एक जना यस्तो पात्रको घटना पनि छ तीन छोरा मध्ये दुई छोराको आकस्मिक निधन भएको हुन्छ र एक छोरा आफू र श्रीमतीको मात्र परिवार बाँचेको परिवार सिद्ध्याउँछु भनेर हिँडेको व्यक्ति पनि बाँचेर राम्रो गरेको कहानी समेत छ । कसैको कहानी लेख्दा त म पटक पटक भक्कानिएको छु ।
पुस्तक लेखिसकेपछि पाठकहरूले दिएको प्रतिक्रिया नै लेखकका लागि उपज हो । त्यसलाई शिरमा राखेर हिँडेको छु । पुस्तक लेखेर कतै अन्याय त गरिन भन्ने पनि लाग्छ । पुस्तक पढेपछि बनाएको पासपोर्टको काम छैन भनेर फालेको घटनाहरू पनि छन् । लेखेकै कारणले कोही कसैले अब म विदेश जान्न भनेर निर्णय लिनु वा निर्णय लिदैँ गर्दाका क्षण वा अन्य घटनाक्रमहरूले कता कता मलाई पनि सोच मग्न बनाउँछ ।
‘दिए पुग्छ’ पुस्तक सात वर्ष अगाडि प्रकाशित भइसक्नुपर्ने थियो । विविध कारणले ढिला भयो । यो पुस्तक लेखिसकेपछि पाठकहरूका प्रतिक्रियाहरू आँसुका रूपमा व्यक्त भएका छन् । कतिपय विदेशमा रहेका पाठकहरूले पढिरहनु भएको कुरा सन्देश पठाउनुभएको छ । रुँदै पुस्तक पढेको कुराहरू दर्साउनु भएको छ । एक जना पत्रकार मित्र नरेन्द्र रौले त सँगै यात्राका क्रममा रुनु नै भयो । यसरी रुनुभयो कि म आफूलाई सम्हाल्न सकिन । त्यस बेला मलाई लाग्यो कि म के लेखिराखेको छु भन्ने प्रश्न आफैँलाई तेर्साइरहेको छु । पुस्तकका पात्र र कथाहरूले कसलाई केले छुन्छ, कसलाई के ले छुन्छ भन्नै नसकिने रहेछ । धेरैको प्रतिक्रिया आँसुकै माध्यमबाट पाइरहेको छु ।
सबै प्रतिक्रियाहरू पढ्दा र सुन्दा उत्प्रेरित गरिरहेको छु कि उत्पीडित बनाइरहेको छु भन्ने पनि लाग्छ । ‘दिए पुग्छ’ले पाठकहरूको आँसु बगाएको छ, त्यो आँसु आउने कुरा सामान्य पनि होइन । आँसु पढेर आउने भन्ने सामान्य कुरा होइन नि । केही कुराले मान्छेलाई छुन्छ, छोएर सोच्न बाध्य बनाउँछ । त्यसपछि म कहाँ रहेछु, मैले कसलाई के दिएछु र मैले के गर्नुपर्छ भन्ने खालको आत्मबल भित्रैदेखि आउँछ होला । जे होस पाठकहरूको प्रतिक्रियाले म उत्साहित छु । भावुक पनि छु । एकदमै सोच मग्न छु । अब के लेख्नुहोला भन्ने सोच पलाइसकेको छ ।
पुस्तक पढ्ने संस्कृति घट्दै गएकोमा दुःख पनि लाग्छ । आज भन्दा १० वर्ष अगाडि पुस्तकको जुन माग थियो अहिले छैन । त्यसको मुख्य कारण भनेको सामाजिक सञ्जाल नै हो । हाम्रो समाजले अहिलेको नकारात्मक कुराहरू मात्र रुचाउने गरेको छ । हाम्रा नेताहरू पहिला जति किताब पढ्थे अहिले पढ्दैनन् । एक अर्कालाई आरोप प्रत्यारोप लगाएर बस्छन् । तर पुस्तक पढे राम्रो हो । समाज नकारात्मक कुरामा धकेलिएको कारणले नै मानिसहरूमा वितृष्णा पैदा गराएको छ । यसलाई सकारात्मकतर्फ लैजान किताब पढ्नपर्छ अनि समाज सुध्रिन्छ । (लेखक रोहित भण्डारीसँगको कुराकानीमा आधारित)