
काठमाडौँ - सुनिल रंजित, आर्टिस्ट हुन् । उनी आफूलाई ‘भिजुअल आर्टिस्ट’ भन्न रुचाउँछन् । उत्तरढोका लाजिम्पाटमा रहेको सिर्जना कलेज अफ फाइन आर्टका उनी सञ्चालक हुन् । उक्त कलेजले प्रत्येक वर्ष विभिन्न कलाको प्रदर्शनी गर्ने गर्दछ । अहिलेपनि बबरमहलमा सो कलेजमा अध्यापन गराउने शिक्षकहरूले बनाएका आर्टहरूको प्रदर्शनी भइरहको छ । ६/७ वर्षदेखि प्रत्येक साल यस्ता प्रदर्शनी हुने गरेका छन् । ‘ब्याचलर्स अफ फाइन आर्टस्’ का विद्यार्थीहरूको पनि प्रत्येक साल शो हुन्छ । फाइनल कलेजबाट निस्किने बेलामा विधार्थीहरूलाई प्रोटफोलियो पनि बनोस् , उनीहरूलाई राम्रो होस् , उनीहरूको कला यात्रा सफल होस भन्ने हिसाबले बीएफए फाइनल गर्ने सम्पूर्ण विद्यार्थीको शो पनि कलेजले गर्ने गरेको छ । यो लगायत अन्य थुप्रै शो पनि गर्ने गरिन्छ । यसै आर्टको सेरोफेरोमा रहेर हर समयले ‘भिजुअल आर्टिस्ट’ सुनिल रंजितसँग गरेको कुराकानी :-
सिर्जना कलेज अफ फाइन आर्ट कस्तो संस्था हो ?
सिर्जना आर्ट २००१ मा हामी आर्टिस्टहरू मिलेर खोलेको एउटा निजी संस्था हो । थियो पहिला । हामी नेपालको एकसे एक कहलिएको कलाकारको समूह मिलेर २०/२५ जना र कोही आर्ट एकदम मन पराउने आर्टमा रूचि राख्ने व्यक्ति साथीहरूको पनि सहयोगमा मिलेर प्राइभेट कलेज खोलेको हौं । पछि हामीले के सोच्यौ भने आखिरमा त सेवा नै हो । देशकै लागि हामीले केही गरौं भने भावना थियो । प्राइभेट गरेपछि त हामी ‘कमर्सियल’ जस्तो देखियौं । हुन् त हामीले ललित कला क्याम्पसमा धेरै विद्यार्थीको चाप बढेपछि उता चाप घट्छ हाम्रो राम्रो प्रोडक्सन निस्किन्छ भन्ने उद्देश्यले खोलेको हौं । कलेज गरेर हाम्रो फाइदा कमाउने उद्देश्य त होइन भने पछि यसलाई हामीले किन सामुदायिक कलेजमा नलाने भनेर केही समय पश्चात् हामीले हालेको पैसाहरू सबै कलेजलाई चन्दामा कन्भर्ट गर्यौं र सामुदायिक कलेजको रूपमा यसलाई स्थापित गर्यौ ।
एकसे एक कलाकारको अचम्मको सीप हामीसँगै थियो। मरणोपरान्त केही त दिएर जानु पर्यो नि । सीप हस्तान्तरण गरेर जानुपर्छ नयाँ ‘जेनेरेसन’लाई भनेर हामी सबै मिलीजुली कसैले के कसैले के गर्दै त्यो सीपहरू ट्रान्सफर गर्ने हिसाबले नै कलेज स्थापना गर्यौ । आज यहाँसम्म आइपुगेका छौं । स्वयम्भू कारखाना चोक नजिक हामीले नयाँ भवन बनाउँदै छौं । अब छिट्टै हामी उताबाट सेवा सुचारु गर्छौं । नयाँ स्पेस नयाँ घर अहिलेको समय अनुसारको आधुनिक घर बनाइरहेका छौं ।
प्रदर्शनीमा राखिएको आर्टहरू कस्ता किसिमका छन् ?
यो आर्ट प्रदर्शनी वैशाख ३० गतेसम्म रहन्छ । जसमा रियालिस्टिक आर्ट देखि सौन्दर्यसम्बन्धी आर्टहरू छन् । मूर्तिहरू छन् । चित्रहरू छन् । परम्परागत देखि उच्च आधुनिक आर्टहरू प्रदर्शनीमा देख्न सकिन्छ । पहिला जस्तो अहिले समय छैन । अहिले समाजमा धेरैले आर्टलाई बुझ्ने कोसिस गरिरहेका छन् । अलिकति पढाइमा ध्यान दिने र सेल्फ स्टडी गर्ने मान्छेहरूले बुझेर कला हेर्न आउँछन् । पहिला पहिला आर्ट हेर्न आउनेले यो के बनाएको हो ? हामी त बुझ्दै बुझ्दैनौं भन्थे । १९८० ताका हाम्रा सर्वमान्य नेता गणेशमान सिंह हाम्रो कलाकार समाजले गरेको प्रदर्शनीमा प्रमुख अतिथिको रूपमा आउनु भएको थियो । त्यति बेला म सानो विद्यार्थी थिएँ । म फोटो लिँदै थिँए । हामी सबै मिलेर केही न केही गर्दै थियौँ । जसमा मेरो भागमा फोटो लिने काम थियो । फोटोग्राफर भएका कारण मैले अगाडि बसेर फोटो लिन पाए । उहाँ आउनु भयो प्रदर्शनी हेर्नुभयो अनि यसो हेरेर भन्नुभयो ‘कालो अक्षर भैँसी बराबर’। त्यस्तो सर्वमान्य नेता, त्यत्रो देशको एकसे एक कलाकारको प्रदर्शनी भइरहेको छ बिना कुनै तयारी, प्रदर्शनीमा आएर त्यसरी बोल्नु त स्वाभाविक भएन नि। त्यति बेला धेरै सिनियर आर्टिस्टहरूले चित्त दुखाउनुभयो । हाम्रो नेताहरू नै त्यस्ता छन् । आर्टलाई हेय दृष्टिले हेरेको भन्ने की, आर्टका बारेमा गहिरो जानकारी लिएर नआएको भन्ने, त्यसरी हेर्नु भयो । तर अहिले त्यस्तो छैन । अचेल धेरै मान्छेले बुझ्ने कोसिस गर्ने गर्छन् । संसार पनि अहिले सानो भएको छ नि । हाम्रो हातैमा संसार छ । मान्छेहरू 'एक्स्फोलर' गर्छन् । केटाकेटीहरूले स्कूलमा सानै देखि आर्ट वर्कहरू गर्दैछन् । आर्ट क्लासहरू छन् । उनीहरूको पनि आर्ट रूममा पेन्सिल , रंगहरूसँग खेल्ने बानी छ । त्यो हिसाबले बाउआमा हरूलाई पनि प्रभाव परेको छ । बच्चा, स्कूल, बाउ-आमा अनि समाज , त्यो बिस्तारै ग्रो भैरहेको छ। अनि यो आधुनिक संसारमा कुनै पनि घरमा , चित्र नभएको घर घरै होइन । त्यो घरको चाही आफ्नै पहिचान हुन्न भन्ने खालको प्रचलन पनि छ । अनि विदेशीको कोठा , फिल्महरू यता उति हेर्दा ब्याकग्राउण्डमा निकै आर्ट देखिएको छ । त्यो प्रभाव हाम्रो समाजमा निकै बढेको छ । नयाँ नयाँ घर बनायो भने मान्छेले एउटा पेन्टिङ राख्न पाए हुने । पेन्टिङ नबुझे पनि एउटा डेकोरेसन पिस भएपनि राख्न थालेका छन् ।
तर, रियल आर्ट, कपी आर्ट र अरूको कपी गरेको आर्टमा धेरै फरक हुन्छ । अब थाहा नभए कपी आर्टपनि लागेको छ । चीनबाट किनेर पनि ल्याएको छ तर हाल्न चाहिँ हालेको छ। तर बुझ्ने मान्छेहरूले घरमा कुनै पनि राम्रो आर्ट राख्नु भनेको आफ्नो परिचय दिनु पनि हो। समाजमा आफ्नो लेबल बनाउनु पनि हो। फलानो मान्छे आर्ट बुझ्ने मान्छे रैछ भन्ने देखाउनु पनि हो। कला, संगीत र साहित्य बिना त त्यो समाज अलि नराम्रो नै हुन्छ । त्यो बुझेर गर्ने पनि छन् । देखासिकी गर्ने पनि छन् । आर्ट पढ्ने विद्यार्थीहरू पनि बढ्दो क्रममा छन् । प्लस टु मा पनि ठाउँ-ठाउँमा आर्टहरू राखिएका छन् ।
आर्ट गरेर बाँच्न सकिन्छ ?
आर्ट मात्रै गरेर बाँच्ने भन्ने कुरा हाम्रो देशमा मात्र होइन विश्व भरिने अलिकति गाह्रै काम छ। तर एक किसिमको साँच्चिकै राम्रो काम रचना गरी राख्ने मान्छेलाई त्यो गाह्रो भन्ने छैन। अचेल हामीसँग नेपालमा आर्ट कलेक्टरहरू पनि छन् । जसले आर्ट किन्दै राख्छ । जुन आर्टको भ्यालु बढ्दै जान्छ । आफूसँग पैसा हुँदा कलेक्सन गर्यो अनि केही समय पछि त्यो कलाको भ्यालु बढ्छ।
उदाहरणको रूपमा भन्नु पर्दा म विद्यार्थी बेलामा धेरै ल्याण्डस्केपको कामहरू गर्थे । त्यतिबेला खासै पैसा पनि हुँदैन थियो । अनि न्यूरोडमा मेरो साथीको घडी पसल थियो । मलाई त्यति बेला (२०४६/४७ साल) ४५० मूल्यको घडी एकदमै मन पर्यो । मलाई घडी मन पर्यो तर पैसा म सँग थिएन । त्यो साथीलाई मैले तिमीलाई मेरो एउटा पेन्टिङ दिन्छु यो घडी मलाई देउ भने । मेरो मिल्ने साथी थियो मान्यो । हामीले बार्टर गरेर किन्यौ । समाजमा मेरो केही नभए पनि अलिकति नाम छ। म एउटा स्थापित कलाकार भैसके । अब त्यति बेला घडीसँग साटेको पेन्टिङ उसको भित्तामा अझै छ। मैले पनि २०औं वर्ष त्यो घडी आफ्नो घरमा राखे तर अहिले त्यो नचल्ने अवस्थामा छ र बेच्न गयो भने त्यसको मूल्य पनि छैन। मैले दिएको फ्रेम पुरानो भएर उसले जतन गरेर नयाँ फ्रेम हालेर चट्ट बैठक कोठामा हालेको छ । तर मेरो आर्टको भ्यालू त दिनकै बढ्दै गएको छ । जस्तै विदेशका कैयौँ आर्टिस्टहरूको पेन्टिङ मिलियनमा बिक्री हुन्छ नि। त्यसकारण आफूसँग अलि अलि पैसा हुनेले अलि अलि आर्ट एण्ड क्राफ्टमा खर्च गर्छ , कलेक्सन गर्छ । मान्छेहरूले आफ्नो पुस्तामा नभएपनि अर्को आउने पुस्ताले त्यसको भ्यालू बुझ्दछ। एउटा पेन्टिङ बेचेर अति धनी भएको कथाहरू पनि छन् ।
कस्ता आर्टहरू किन्न सुझाव दिनुहुन्छ ?
आर्ट त किन्ने तर जे पनि किन्ने होइन । अलिकति आफूले बुझेर , अलिकति अध्ययन गरेर किन्नु पर्छ । सेयरमा लगानी गर्दा अन्धाधुन्ध लगानी त गरिँदैन नि । बजारको बारेमा अलिकति बुझेर, गहन अध्ययन पश्चात्मात्र हामी लगानी गर्छौ । त्यस्तै आर्टमा पनि त्यो कस्तो आर्ट हो ? इतिहास के हो ? आर्टिस्ट कतिसम्म पुग्न सक्छ ? कहिले देखि कस्ता आर्ट गरेका छन् ? लगायत सबै कुराहरू विचार गर्नुपर्छ । भिडाउन आयो भन्दैमा किन्नु भएन । तर रियल आर्ट भ्यालू भएको आर्टिस्टको आर्टहरू संकलन गर्नुपर्छ। आर्ट भनेको सम्पति हो । देशकै सम्पति हो । दौडधुपमा लाग्ने आर्टिस्टको किन्यो भने समयले आर्टिस्टलाई फ्याँक्छ अनि किनेको आर्टको मूल्य पनि सोचे बमोजिम नहुन सक्छ।
कस्ता र कति मूल्यका आर्टहरू बिक्रीमा छन् ?
यहाँ सबै आर्ट सेलमा राखिएको छ। दर्शक आउनु पर्यो किन्नु पर्यो त्यही नै हो नि। यहाँ प्रदर्शनीमा राखिएको आर्टहरू न्यूनतम ३० हजारसम्म छन् र अधिकतम चाही १२/१३ लाखसम्म छ ।
आर्टमा नेपाल सरकारले गरेको लगानीबारे के भन्नुहुन्छ ?
हामी आर्टिस्टले साँच्चै देशका लागि एक किसिमको जनशक्ति तयार पार्ने हाम्रो जिम्मेवारी बोध भएर हामीले काम गरिरहेको हो । सिर्जना कलेज अफ फाइन आर्टले सिर्जना कन्टेम्पोररी ग्यालरी भन्ने थियो जहाँ हामीले देश विदेशबाट आउने कलाकारहरूलाई सम्मान गर्ने , जिन्दगी भरि आर्टमा लागेर आफ्नो जीवनको उतरार्धमा परिसकेको आर्टिष्टहरूलाई बटुलेर , उनीहरूलाई अगाडि सार्ने जस्ता राज्यले गर्नुपर्ने काम हामीले गरी रहेका छौं । अहिले पनि त्यस्तो पायो भने गर्छौ । हाम्रो कलेजमा लगेर सम्मान गर्ने । हामीले के गर्न सक्छौ त्यो गर्ने । मद्दत गर्ने लगायत काम गर्थ्यौ । राज्यले त्यस्तो बजेट छुट्याएको छैन । फाइन आर्ट एकेडेमीलाई जम्मा वर्षको ३ करोड कि कति बजेट आउँछ , ४-५ वटा गाडी छ , पेट्रोल नै कति जाला , ५०औं स्टाफ छ त्यो बजेटले के हुन्छ ? राज्यले गर्नु पर्ने काम र गर्न सक्ने ठाउँ धेरै छ । राज्यमा मुख्य पदमा बस्ने मान्छेहरूलाई मतलब नै छैन ।
नयाँ नयाँ आउने नेताहरूमा बिस्तारै लगानी गर्ने सोच आउँला, तर त्यस्तो बजेट छुट्याएको पाइन्न । बजेट छुट्यायो भने निकै राम्रो । जस्तै बंगलादेशको उदाहरण दिँदा त्यो नेपाल भन्दा धेरै पछि बनेको देश हो। तर त्यहाँ सिस्टमले कस्तो बनाई दिएको छ भने कुनै पनि बिजनेस हाउसले , बैंक, विभिन्न ठूलो संस्था आदिले आर्ट एण्ड क्राफ्टमा उनीहरूको नाफाको केही प्रतिशत खर्च गरे बापत सरकारले के-के सुविधा दिने कानुन बनेको छ । त्यो गरे पश्चात् त्यहाँका आर्टिस्टहरुले काम पाए । व्यापारी न परे जहाँ पाए त्यहाँ कहाँ खर्च गर्छ ? राम्रै ठाउँमा पैसा हाल्छ । उनीहरूले आर्टिस्टहरुलाई स्पोन्सर गर्ने, कार्यक्रम गराउने, पेन्टिङ किन्ने लगायत गरेपछि त्यहाँ आर्टले स्पेस पायो । अरु चीज नभए पनि आर्टमा उनीहरूको निकै राम्रो भैरहेको छ । तेस्तै नीति नियम यहाँ बनाउनु पर्ने हो ।अब यो बनाउनलाई पनि बुद्धि हुनुपर्यो ।
ललितकला एकेडेमी पनि छ नि, त्यसले कलाको विकास कतिको गरेको छ ?
जस्तो हामी कहाँ अहिले राजनीतिक नियुक्ति गरिन्छ एकेडेमीमा । उहाँहरूको दौड आफ्नो पद बचाउने, दौडधुप गर्ने, विदेशी आयो भने हुल पछि पछि गएर फोटो खिच्ने, सामाजिक संजालमा फोटो राख्ने, त्यस्तो त्यस्तोमा गएका छन् । उहाँहरुले विभिन्न गतिविधि गरेको बताए पनि त्यो भने स्कूल लेबल भन्दा माथिका छैनन् । यस्तो कुरा भन्नुपर्दा लाज चाही लाग्छ तर मेरो कोहीसँग व्यक्तिगत रिसिभि छैन तर यो त राम्रोको लागी भनेको हो नी । साँच्चैको आर्टको विकास गर्ने मनसाय हो भने त्यस्तो कार्यक्रम गर्नुको सट्टा जुन किसिमको आर्ट एकेडेमीले गर्नुपर्ने काम हो यस्तो प्रदर्शनी लगायतका कुराहरू । सरकारी लेबलमा यस्ता कुराहरू सिस्टममा राख्नु पर्यो । त्यसपछि हाम्रो आर्टिस्टहरूको लागि यस्तो राम्रो हुन्छ भनेर एकेडेमीले काम गर्नु पर्यो बंगलादेश जस्तै । न की सरकारले विद्यार्थीहरूको पेन्टिङ प्रतियोगिता राख्ने । त्यो त अरूलाई ठेक्का दिए भैहाल्यो नि । अलिकति बजेट छुट्याएर पठायो भने २-४ जना विद्यार्थीको समूहले गरी हाल्छन् । जसले गर्दा विद्यार्थीहरूले अनुभव पनि गर्छन् । उनीहरूलाई पनि राम्रो हुन्छ । कुनै पनि देश सम्पन्न हुने आर्ट, साइन्स र टेक्नोलोजीले गर्दा हो । अब हाम्रो काठमाडौं पनि हेर्नुन् अहिले यो के ले चिनिएको छ? यहाँको आर्किटेक्चर, आर्ट, पुराना मठ-मन्दिर लगायत जम्मै आर्ट होनी जसले गर्दा यो प्रख्यात छ । आर्ट कै कारण विश्व सम्पदामा सूचीकृत छ । निकट भविष्यमा अझै राम्रो होला भन्नेमा म आशावादी चाही छु ।