
जनकपुर - लामो समयदेखि विवादित रहेको धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित यादवचौक नाम श्रीरामचौक राख्ने सहमती भएको छ । वडा नं. ९ का वडाध्यक्ष मनिष राय अमातको नेतृत्वमा बसेको सर्व पक्षीय बैठकबाट सो चोकको नाम श्रीराम चौक राख्ने निर्णय भएको छ ।
बैठकले चौकमा ‘श्रीराम चौक’ लेखिएको सङ्केत बोर्ड सार्वजनिक रूपमा राख्ने र सो बोर्डमा रामघाटतर्फ, कोल्लुवा मोड, र सतोश्वरधाम जाने दिशाहरू स्पष्ट रूपमा उल्लेख गरिने निर्णय गरेको छ । बोर्ड स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा अनावरण गरिने जनाइएको छ ।
गत चैत्तमा धनुषाको सबैला नगरपालिकास्थित भठिहन भन्दा करिब १०० मिटर दक्षिण रहको चौबाटोलाई केही उदन्ड प्रवृतिका व्यक्तिहरुले यादव चोक लेखिएको बोर्ड राखेपछि विवाद सृजना भएको थियो । सो क्रममा झडप हुँदा कयौँ व्यक्ति घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते भएका थिए । विवाद अन्त्य गर्न सबैला नगरपालिकाका मेयर कारिराम यादवले दुई महिनाभित्रै सो चोकको नामाकरण गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।