Harsamaya
नेपाल-चीन सम्बन्ध र आपसी सम्मान एक अनुपम उदाहरण - डा. शेखर
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ।

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाल-चीन सम्बन्धले आपसी सम्मान, सहयोग र शान्तिपूर्ण सहअस्तित्वको अनुपम उदाहरण प्रस्तुत गरेको बताएका छन् ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा सोमबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सन् १९५५ देखिको पञ्चशीलका पाँच सिद्धान्तहरूमा आधारित नेपाल-चीन सम्बन्ध अनुपम रहेको बताएका हुन् ।

कोइरालाले नेपालको दीर्घकालीन ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता पुनः दोहोर्‍याएका छन् । उनले नेपालले कहिल्यै पनि आफ्नो भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने वचन दिए । सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड-१९ महामारीमा चीनले पुर्‍याएको सहयोगप्रति उनले विशेष आभार प्रकट गरे ।

कोइरालाले तत्कालीन प्रधानमन्त्री बीपीले जुलाई सन् १९६० मा चीनका प्रधानमन्त्री चाउ एन लाईलाई लेखेको पत्रको पनि स्मरण गरे । बीपीको उक्त पत्र उद्धृत गर्दै शेखरले भने, ‘नेपाल-चीन मित्रता एशियाली शान्तिको लागि अत्यन्त महत्वपूर्ण छ । यो सम्बन्धले अन्ततः विश्व शान्तिको लागि पनि भूमिका खेल्छ ।’

बीपीको यो भावना पछि गिरिजाप्रसाद कोइरालाले पनि मजबुत बनाउँदै लगेको पनि शेखरले बताएका छन् । नेपाल र चीन सधैँ एकअर्काको साथमा रहँदै आएका उनले बताए । आवश्यकता र कठिन समयमा पनि दुवै देशबीच मित्रता रहेको उनको भनाइ थियो ।

कार्यक्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्ध झल्काउने दुर्लभ तस्वीरहरूको प्रदर्शनी पनि गरिएको थियो।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update