-1746085075.jpg)
काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न नसकेको बताएका छन् । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदै बिहीबार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका हुन् ।
उनले भने, ‘हामीले केही हासिल गरेका छैनौं भन्ने होइन । हासिल गरेका छौं । अथक प्रयासले योगदानमा आधारित सामाजिक सुरक्षा सफल भएको छ । अब यसमा अनौपचारिक क्षेत्रलाई हामीहरूले कसरी सामाजिक सुरक्षामा समावेश गर्ने भन्ने चुनौतीको विषय भएको छ । यसलाई गम्भीर रूपमा लिएर अगाडि जानुछ । मैले धेरै प्रयास गरें । नेपाली कांग्रेसले पनि धेरै प्रयास गर्यो तर अझै श्रमिक आयोग बनाउन सकेको छैंनौं । यसका लागि नेपाली कांग्रेस सँधै तयार रहिरहन्छ ।’
उनले होटेलमा कार्यगत श्रमिकहरुले सेवा शुल्क वापत पाउने १० प्रतिशतका लागि कानुन बनाएर अगि बढ्नुपर्ने बताए । ‘होटलमा कार्यरत श्रमिकहरूले जुन १० प्रतिशतको कुरा गर्नुभएको छ । उहाँहरुले धेरै ठुलो कुरा माग गर्नुभएको छैन । कानुन बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतको पनि भनेको छ । त्यसका लागि नेपाली कांग्रेस कानुन बनाउन अगाडि बढ्छ,’उनले भने ।