Harsamaya
जनकपुरमा पाकिस्तानविरुद्ध प्रर्दशन, सेना प्रमुखको पुत्ला दहन
पाकिस्तानी सेना प्रमुखको अभिव्यक्तिविरुद्ध जनकपुरधाममा प्रदर्शन ।

जनकपुर - भारतको कश्मीरमा भएको आतंकवादी हमला र पाकिस्तानी सेना प्रमुखले दिएको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरिएको छ ।

नेपाल भारत खुल्ला सीमा संवाद समूह र शहीद संजय चौधरी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार जनकपुरधाममा विरोध जुलुस निकालिएको छ ।

केही दिन अघि पाकिस्तानी सेना प्रमुखले हिन्दु मुस्लिमबीच द्वन्द्व फैलने अभिव्यक्ति दिएका थिए । त्यसको केही दिन पछि कश्मीर घटना भएको थियो । पाकिस्तान र पाकिस्तानी सेना प्रमुखको सो अभिव्यक्तिविरुद्व आज जनकपुरधाममा प्रदर्शन गरिनुका साथै पाकिस्तानी सेना प्रमुखको पुत्ला समेत जलाइएको छ ।

प्रदर्शनका अगुवा संवाद समूहका अध्यक्ष राजीव झाले पाकिस्तानी सेना प्रमुखले गैर राजनीतिक, धार्मिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको र त्यसपछि भएको घटनामा हिन्दूहरूलाई मात्र मारिएकाले पाकिस्तान र सेना प्रमुखविरुद्ध पनि प्रदर्शन गरेको जानकारी दिए ।

उनले आतंकवाद कुनै पनि हालतमा कसैका लागि पनि हितकर नभएकाले आतंकवाद विरुद्व सबै एक हुनपर्नेमा जोड दिए ।

विरोध प्रदर्शनमा जनकपुरधामका मुस्लिम समुदायका अगुवा र युवाहरूको पनि सहभागिता रहेको थियो । उनीहरूले पनि आतंकवादको विरोध गर्दै आतंकवादीलाई प्रसय दिनेको विरोधमा उत्रन आवश्यक रहेको बताउँदै आक्रोश व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update