Harsamaya

विगत ११ वर्ष अघिदेखि ‘जोगिन्दरको पान दुकान’ टेलिभिजन कार्यक्रम संचालनमा ल्याएको हुँ । जनचाहना अनुरूप, जनताले चाहेका विषयवस्तु र खुराकहरूलाई निकालेर हास्यव्यङ्ग्य शैलीमा कार्यक्रम ल्याएको थिए । ११ वर्षसम्म विभिन्न क्षेत्रका व्यक्ति, राजनीतिज्ञ, कलाकार, समाजसेवी, व्यवसायीहरूलाई समेटेर कार्यक्रम गरेको थिए । तर बिचमा कोरोना महामारी   लकडाउनका कारण निरन्तरता दिन सकिएन । 

हाल बागमती टेलिभिजन र ओएसआर डिजिटलमार्फत ‘जोगिन्दरको पान दुकान सिजन २’ कार्यक्रम सुरु गरेको छु । पहिला हिमालयन टेलिभिजनमा सञ्चालन भएको कार्यक्रम अब वागमती टेलिभिजनमा आउनेछ । सबैले रुचाइदिनुभएको कार्यक्रम फेरि परिमार्जिनसहित आएकाले यसले थप उचाइ लिने विश्वास लिएको छु । 

सिजन १ भन्दा अझ परिमार्जित रूपमा गेस्टहरू बोलाउने, उनीहरूका बाल्यकालदेखिका क्षणहरू, प्रेमपत्रका कुराहरू समेटेर रमाइलो बनाउने प्रयास गरेको छु । लोपोन्मुख कुराहरू कार्यक्रममा समेट्ने मेरो प्रयास रहनेछ ।

‘जोगिन्दरको पान दुकान’ भनेको सबैको साझा थलो हो । एउटा वरपिपलको शितल दिने चौतारी पनि हो । राजनीति, कलाकारिता व्यवसायी, विभिन्न विधामा लागेका व्यक्ति, खेलाडी, संगीतकार, गीतकार, गायक, कलाकारहरू यसमा गेष्टका रूपमा हुनेछन् । कोही सडकमा  हुनुहुन्छ, मकै पोल्दै हुनुहुन्छ भने पनि उहाँहरूलाई जोगिन्दर पान दुकान–२ सिजनमा निम्ता गरिनेछ । प्रत्येक बिहीबार ८ः३० बजेदेखि ९ बजेसम्म बागमती टेलिभिजन र ९ बजेबाट ओएसआर डिजिटलमार्फत कार्यक्रम बजारमा जान्छ । पहिलो एपिसोड अहिलेको टिकटकर कुलव्वाईलाई लिएका छौं । दोस्रोमा राजनीतिज्ञ सिके राउत र अर्कोमा कमल खत्री हुनुहुन्छ । सबै विषयवस्तु र व्यक्तिहरूमाथि क्यारिकेचर पनि गर्छु ।

नेपालको राजनीतिको अवस्थाका बारेमा व्यङ्य पनि गर्छु । अहिलेको राजनीतिक अवस्था हेर्ने हो भने राजनीतिप्रति र व्यवस्था संचालन गर्ने सरकार, पार्टीमा बसेका, एवं राज्यसत्ता सञ्चालनको प्रत्यक्ष एवम अप्रत्यक्ष रूपमा बसेका नेताहरुप्रति जनताको  जनगुनासो र आक्रोश पनि देखिन्छ । 

जनताले भनेका कुराहरू पाउन नसक्ने, विकास निर्माणका कामहरू ठप्प हुने, हरेक क्षेत्रमा विकृति, विसङ्गति बढ्दै जाने, देशमा सम्भावना नभएर लाखौँ व्यक्तिहरू प्रत्येक दिन वैदेशिक रोजगारमा जाने जस्ता कुराहरूले गर्दा व्यवस्थाभन्दा पनि पार्टी सञ्चालन अथवा सरकार चलाउनेहरूप्रति जनतामा आक्रोश छ । त्यो कुरालाई छिटोभन्दा छिटो सम्बोधन गरिएन भने यो विस्फोटन हुन सक्छ । त्यो विस्फोटले कता कता हानी र क्षति गर्छ त्यो भन्न सक्ने अवस्था छैन । तर त्यो विस्फोट भयो भने अवश्य त्यसले देशलाई धेरै ठुलो क्षति गर्छ । विस्फोट हुनुभन्दा अगाडि बाटो छाडेर हिँडेको राजनीतिक परिवेशलाई सही दिशा दिने काम सम्बन्धित निकाय, नेता र सरोकारवाला व्यक्तित्वहरूले गर्नुपर्छ । 

अहिलेसम्मको सबैभन्दा राम्रो व्यवस्था भनेको नै लोकतन्त्र हो । नेपाल पनि यही व्यवस्थालाई अगाडि बढाइरहेको छ । लोकतन्त्रमा सम्पूर्ण पक्षहरूले आफ्नो हक अधिकार माग्न पाउँछन् । त्यसै अन्तरगत राजावादीहरूले पनि राजालाई कतै ठाउँ दिऊ भनेर आन्दोलन गर्नु भएको हो । गणतन्त्रमा आन्दोलन गर्न पाइन्छ तर शान्तिपूर्ण तरिकाले गर्नुपर्छ । 

कलाकारिता क्षेत्र पछिल्लो चरणमा राम्रो भएको छ । कलाकारहरू बाँच्नको लागि विदेश नै जानुपर्छ जस्तो लाग्दैन । किनभने अहिले धेरै सम्भावनाका ढोकाहरू खुलेका छन् । देश र विदेशमा विभिन्न प्रकारको कार्यक्रमहरू भइरहेका छन् । अहिले आधुनिक युग भएको कारणले घरमै बसी बसी पनि आफ्ना प्रस्तुतिहरू देखाएर सामाजिक सञ्जालमार्फत पैसा कमाउन सकिन्छ । 

पहिलाको जस्तो अवस्था छैन । कलाकारिता गरेर आनन्दले आफ्नो जीवनयापन गर्न सक्ने अवस्था छ । दर्शकहरूले अलि बढी उश्रृंखल विषयहरू बढी मन पराउने गरेका छन् । तर यस्तो कुरा क्षणिक मात्र हो । त्यो दिगो हुँदैन र त्यसले राम्रो गर्दैन । यसले समाजमा राम्रो सन्देश प्रवाह गर्दैन । हामीले दिने कुरा समाजको लागि सन्देशमूलक नै हुनुपर्छ । प्रस्तुत गरेको कुराले समाजमा विकृति ल्याउनु हुदैँन ।यस्ताे  कुरा सुधार गर्दै अगाडि बढ्नुपर्छ । 

महिलाहरूलाई बढी मात्रामा प्रयोग गरेर हँसाउने विषयहरूमा सुधार गर्दै लग्यो भने दीर्घकालसम्म र अनन्तकालसम्म स्थायित्व हुन्छ । त्यसैले दोस्रो सिजन आउँदै छ । मलाई विश्वास छ जनताले मागेका चिज र जनजनको अपेक्षा अनुरूपको चिजलाई कार्यक्रममा ढालेर अगाडि बढ्न सके जनताको माया अवश्य पाइन्छ । त्यही अनुरूप ‘जोगिन्दरको पान दुकान सिजन २’ आएको हो ।

कुनै पनि काममा नकारात्मक प्रतिक्रिया आएन भने त्यो कामले सफलता पाउँदैन । कुनै पनि चिजका बारेमा सम्मिश्रण प्रतिक्रिया आउनुपर्छ । नकारात्मक प्रतिक्रियाले पनि सकारात्मक बाटोमा जाने प्रेरणा दिन्छ । त्यसबाट शिक्षा लिएर अघि बढ्नुपर्छ । काम गर्दा सकारात्मक र नकारात्मक प्रतिक्रिया आउनु स्वाभाविक हो । संसारमा गल्ती नगर्ने बेलायतका राजा मात्र हुन् । किनभने उनलाई काम गर्ने अधिकार दिएको छैन काम नगरेपछि गल्ती हुँदैन । कार्यकारी अधिकार लिएर काम गरेपछि सकारात्मक र नकारात्मक सबै आउँछ । नकारात्मक प्रतिक्रिया आउनासाथ खतम भयो, बरबाद भयो भन्नेतिर लाग्नुभयो भने राम्रो हुँदैन । नकारात्मक प्रतिक्रियालाई सकारात्मक रूपमा लिनुपर्छ ।

जोगिन्दरको पान दुकानका विषयमा अमेरिकाको एक संस्थाले सर्ट फिल्म बनाएको थियो । त्यो एचआइभीको विषयवस्तुमा बनेको थियो । नारायण पुरीलगायतका टिमले बनाउनु भएको थियो । त्यसको मुख्य भूमिकामा म थिएँ । म त्यसमा पानवाला बनेर एचआइभी नियन्त्रणको लागि अस्थायी साधनहरु ढाल, प्यान्थरलगायत विभिन्न साधनको विक्री वितरण गर्ने पानवाला थिए । त्यो कार्यक्रम र मेरो पानवाला क्यारेक्टर सर्वाधिक रुचाइयो । एक नम्बरको कार्यक्रम भनेर पुरस्कार पनि प्रदान गरियो ।

सोही बेला पानको सेट बनाएर हिमालय टेलिभिजनबाट सुरु ‘जोगिन्दरको पान दुकान’ सुरु भएको हो । त्यसैले पनि मलाई मेरो रियल नामले चिन्ने घरपरिवारले मात्र हो ।  दर्शकहरूले जोगिन्दर भनेर चिन्छन् । कतै बोलाउँदा पनि मेरो नामबाट बोलाएको थाहा छैन । आफ्नै गाउँघरमा मात्र हो शिवशंकर रिजाल भनेर बोलाउँछन् । (कलाकार शिव शंकर रिजालसँग नेपाल न्यूज बैंकसँग गरिएको कुराकानीमा आधारित)   

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update