
काठमाडौं - नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले जेनजीको आन्दोलनका क्रममा माओवादी र राप्रपाका कार्यकर्ताले आफ्नो घरमा आगो लगाएको बताएका छन्। पूर्वमन्त्री बस्नेतले आइतबार आफ्नो बालकोटस्थित घरमा कार्यकर्ता भेटमा यस्तो बताएका हुन्।
बस्नेतले यो आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि चोखो नदेखिएको बताए। 'जेनजीको नाममा अहिले भएको आन्दोलनमा घुसपैठ भएको छ। राप्रपा पनि चोखो देखिएको छैन। ‘सिसिटिभी फुटेजहरु बाहिर आइरहेका छन्,’ बस्नेतले भने, ‘आगजानीमा देशव्यापी रुपमा माओवादी अघि देखिएको छ। मेरै घर तिनकुनेमा र बालकोटमा पनि आगो लगाउने क्रममा माओवादी सक्रिय देखिन्छ। रास्वपा पनि सक्रिय भएको देखिन्छ। स्वदेशीमात्र छैन। विदेशी पनि देखिएका छन्।’
आफूलाई धेरैले नबोल्नु भनेको उल्लेख गर्दै प्रजातन्त्रका लागि लडेको व्यक्ति देशलाई संकट पर्दा डराएर बस्न नहुने बताए। ‘मलाई धेरैले नबोल सत्य बोल्दा गाह्रो हुन्छ भन्छन्। प्रजातन्त्रका लागि लडेर आएको मान्छे हुँ म,’उनले भने।
भदौ २३ गते भएको जेनजीको प्रदर्शनका क्रममा कांग्रेस नेता बस्नेतको तीनकुनेस्थित निवास र बालकोटस्थित निवास आगजानी भएको थियो। यस घटनापछि उनलाई भेट्न सिन्धुपाल्चोकका कांग्रेसका नेता कार्यकर्ता बालकोट पुगेका थिए।