Harsamaya
कोइराला निवास खरानी भयो, तर विपीको विचार अमर छ : डा. शेखर
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला।

काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा देखिएको पछिल्लो राजनीतिक परिवर्तनलाई नयाँ युगको सुरुवातको रुपमा लिनुपर्ने बताएका छन्। शनिबार आफ्नो धारणा राख्दै उनले जेन-जी आन्दोलनले उत्पन्न गरेको परिस्थितिले परम्परागत ठूला दललाई पुनः आत्मसमीक्षामा बस्न बाध्य बनाएको टिप्पणी गरेका छन्।

भाद्र २४ गतेको आन्दोलनका क्रममा विराटनगरस्थित ऐतिहासिक कोइराला निवास जलेको घटनालाई स्मरण गर्दै उनले भने, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ तर विपी विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिँदैन।’

उनले नयाँ पुस्तामा देखा परेको उर्जा र परिवर्तनको चाहनालाई कांग्रेसले आत्मसात् गर्दै नूतन निर्माणमा लाग्नुपर्ने आवश्यकता औंल्याए। ‘हाम्रो युवापुस्ता आफ्नै देशमा सुन्दर र समृद्ध भविष्यको खोजीमा छन्, कांग्रेस त्यसको माध्यम बन्नुपर्छ,’ उनले भने।

डा. कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको लुटपाट र हातपातलाई जघन्य अपराधको संज्ञा दिँदै त्यसको कडा शब्दमा निन्दा गरे। तर उनले आन्दोलनमा प्रकट भएको सकारात्मक पक्षलाई समेत आत्मसात् गर्नुपर्नेमा जोड दिए।

‘हामीसँग आँसु बगाएर समय खेर फाल्ने अवसर छैन, प्रायश्चित गर्नुपर्छ, अनि नयाँ बाटोमा लाग्नुपर्छ,’ कोइरालाले उल्लेख गरेका छन्।

उनले दशैं लगत्तै देशव्यापी बहस र छलफल सुरु गर्ने घोषणा गर्दै कांग्रेस भित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनु आफ्नो प्राथमिकता हुने बताए।

डा. कोइरालाले विपी कोइरालाको दिव्यवाणी स्मरण गर्दै भने, ‘नेपाल पक्कै ब्यूँझिन्छ, जय नेपालको नाराले। अब जनताको केन्द्रमा बस्ने अभियानमा लागौं, यही बाटोले कांग्रेसलाई पुनः सशक्त बनाउन सक्छ।’
Shekhar-Koirala-Press-2082-05-28-A-1757736531.jpeg

Shekhar-Koirala-Press-Release-2082-05-28-1757736187.jpeg

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update