Harsamaya

गत सोमबार र मंगलबार युवा पुस्ता (जेन–जी)को आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भयो । सरकारी तथा निजी संरचनाहरूमा आगजनी गरियो । विभिन्न राजनीतिक दलका नेताहरूको निजी घर र नेताहरू भौतिक आक्रमणमा परे । दर्जनौँ नेताहरूको घरमा आगजनी र तोडफोड मात्र गरिएन विस्थापित नै हुन पुगे । अवस्था सामान्य हुँदै गए पनि काँग्रेस, एमाले, माओवादी केन्द्रका नेताहरू अझै सुरक्षाकर्मीको निगरानीमा छन् । सामाजिक सञ्जालमार्फत बाहेक मिडियामार्फत सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहेका छैनन् । काठमाडौंमा रहेका आफ्नो घरमा आगजनी भएपछि पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला अन्यन्त्रै बस्दै आइरहेका छन् । यसै सिलसिलामा नेपालको पछिल्लो घटनाक्रमबारे उनीसँग छोटो संवाद गरेको छ ।

देशमा हालको परिस्थिति कसरी सिर्जना भयो र घट्नालाई कुन रूपमा हेर्नुहुन्छ ?

कसरी सिर्जना भयो भन्ने कुरा त घटना घटाउनेलाई थाहा होला । तर मेरो विचारमा यो दुःखद घटना हो । जेनजी पुस्ताका भाइबहिनीहरूले जुन माग राखेर प्रदर्शन गरे त्यसमा घुसपैठ भयो । र त्यसलाई हिंसामा मोड्ने काम भयो । प्रहरीको गोली चल्यो, धेरैको मृत्यु भयो, धेरै जना घाइते भए । त्यसैले पहिलो दिन सिङ्गो नेपालका लागि दुःखद घटना भयो । दोस्रो दिन, जसरी सिंहदरबारदेखि देशभर लुटपाट भएको छ, मेरो पार्टीका सभापति शेरबहादुर देउवाको घरदेखि मेरो साथै देशभरका पार्टीका साथीहरूको घरमा आगजनी र लुटपाट भएको छ । सरकारी कार्यालय र निजी क्षेत्रका औद्योगिक वा व्यापारिक केन्द्रहरूमा धेरै ठूलो आगजनी र लुटपाट भएको छ । देशलाई अत्यन्तै ठूलो क्षति भएको र त्रासदीपूर्ण घटना भएको छ । अब म यसको पृष्ठभूमितिर म जान चाहन्न । 

तर यति आग्रह गर्न उपयुक्त हुन्छ भन्ने लाग्छ त्यो भनेको शान्ति कायम गर्नकालगि प्रथम प्रयास गर्नुपर्छ । सबैभन्दा मूल कुरा मानिसको बाँच्न पाउने अधिकार हो । एक नेपालीले अर्को नेपालीलाई लुटपाट र मारपिट गरेर, सार्वजनिक वा निजी सम्पत्ति आगजनी गरेर, ध्वस्त गरेर नेपालले जित्दैन, हार्ने मात्र हो । नेपाल र नेपाली जनताको जुन रूपमा क्षति भएको छ त्यसलाई मूल्याङ्कन गरेर अब पुनः शान्ति कायम गर्दै पुनः निर्माण गर्न एकजुट हुनुपर्छ भन्ने ठान्दछु । ती दिनका घटनालाई विश्लेषण गर्दा म यत्ति नै भन्न चाहन्छु । र जेनजी पुस्ताका साथीहरूले सुशासन र सकारात्मक माग राखेर सडकमा आए पनि हिंसात्मक रूप दिने काम भएको छ, यो दुःखद घटना हो । पुनः यस्ता घटनाहरू नदोहोरियोस् । सबैभन्दा दुःखको कुरा भनेको सबै मानिसको मनमा हिंसा प्रवेश भएको छ, त्रास पैदा भएको छ । सबै तर्सिएका छन् र सिङ्गो नेपाल तर्सिएको छ । यस्तो अवस्थामा सबै नेपालीको मनमा प्रवेश गरेको हिंसा र भय हटाउनका लागि निकै ठूलो प्रयासहरू चाहिन्छ । त्यसका लागि हामी सबै एकताबद्ध हुन आवश्यक छ । 

आन्दोलनपछि राजनीतिक अवस्था मोडिएको छ । प्रतिनिधि सभा विघटन भएको छ । यसमा राष्ट्रपतिको कदमलाई कसरी लिनुहुन्छ ?

संसद विघटनसम्मको जुन कार्य भएको छ त्यो संविधान विपरीत छ । यसलाई संविधान सम्मत किमार्थ मान्न सकिँदैन । यस बारेमा पार्टीको धारणा सार्वजनिक भइसकेको छ । र प्रतिनिधि सभामा चिफविफहरुले पनि वक्तव्य निकालिसकेका छन् । अब गैर संवैधानिक निर्णयका विरुद्धमा सर्वोच्च अदालत जानेदेखि विभिन्न गतिविधि हुन सक्छन् । तर ती सबै शान्तिपूर्ण र रचनात्मक हुनेछन् । हामीले देशको भविष्यलाई र लोकतन्त्रको भविष्यलाई सोचेर त्यस्ता गतिविधिहरू हुन सक्छन् । यसमा पार्टी र पार्टीहरूबिच छलफल गर्नुपर्नेछ । अहिले नेताहरू एक ठाउँमा बसेर छलफल गर्नुपर्ने अवस्था बनिसकेको छैन । पार्टी सभापति शेरबहादुर देउवा सैनिक ब्यारेकमै हुनुहुन्छ, घरमा फर्किने अवस्था बनेको छैन । उहाँमाथि जुन प्रकारको हिंसात्मक आक्रमण भयो जति निन्दा गरे पनि पुग्दैन । यस्ता घटना नहुन् भन्ने कामना गर्नुपर्छ । 

तर राष्ट्रपतिले आन्दोलनको म्यान्डेट र आवश्यकताको सिद्धान्तका आधारमा कदम चालिएको भन्नुभएको छ नि ?

संविधानले यस्तो प्रकारको निर्णय गर्ने अधिकार दिएको छैन । यसमा यत्ति नै भनौँ होला । तर राष्ट्रपतिमाथि पनि ठूलो दबाब परेको होला, त्यो दबाबलाई सहेर जे जति गर्न सक्नु हुन्छ त्यही गर्नुभयो होला । तर यसबारे छलफल गर्नुपर्ने छ । र यो कदम गैर संवैधानिक हो, यसमा स्पष्ट हुनुपर्छ । राष्ट्रपतिले कुन परिस्थितिमा निर्णय गर्नुभयो त्यो समय अनुसार मुल्याकंन गर्दै जानुपर्छ । 

सामान्यतः नयाँ सरकार बनेपछि अन्तर्राष्ट्रिय स्तर वा विभिन्न देशका प्रमुखहरूले शुभकामना र बधाई दिने चलन छ । तर यस पटक दलाइ लामाको पनि बधाई आएको छ, यसलाई अनेक कोणबाट विश्लेषण भइरहेको छ । तपाईँले कुन रूपमा हेर्नुभएको छ ?

यो मलाई पनि अनौठो लागेको छ । यो भन्दा अगाडि यस्तो स्वागत र बधाई दिएको थाहा छैन । नयाँ प्रधानमन्त्री बनेपछि मित्रराष्ट्रहरूबाट बधाई एवं शुभकामना आउने प्रचलन छ । तर दलाई लामाको किन आयो भन्नेबारे मैले पनि केही भन्न सकिन।

जेनजी पुस्ताले दुई दिन आन्दोलन गरे, विशेष गरी दोस्रो दिनको आन्दोलन हिंसात्मक र विध्वंसकारी भयो । यस्तो हुनुमा नेपाली सेनाको भूमिकामाथि प्रश्नहरू उठिरहेका छन् नि ?

सुरक्षा निकायहरू दोस्रो दिनबाट पछि हटेको देखिन्छ । अब सेनाले सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालय लगायतलाई सुरक्षा दिन नसक्नुका बारेमा धेरै टिप्पणी गर्न चाहन्न । तर यत्ति भन्न चाहन्छु अब सबै सुरक्षा निकायहरूले जिम्मेवार रूपमा काम गर्न सक्नुपर्छ । शान्ति कायम गर्न सकुन् । 

राष्ट्रपतिले आगामी फागुन २१ लाई निर्वाचनको मिति तोक्नुभएको छ । यो सम्भव छ ?

निर्वाचन भइदिए त राम्रो हो तर मैले सम्भावना देखिरहेको छैन । अब परिस्थिति कसरी विकास हुन्छ त्यही आधारमा मूल्याङ्कन पनि गरौँला । झट्ट अहिले हेर्दा कसरी सम्भव होला र जस्तो लाग्छ । हेरौँ अब राष्ट्रपतिले के सोचेर निर्वाचनको म्यान्डेट दिनुभएको छ र प्रधानमन्त्री सुशीला कार्कीजीले कसरी निर्वाचन गर्न सक्छु भनेर म्यान्डेट लिनुभएको छ त्यसको मूल्याङ्कन गरौँला । तर आजको दिनमा विश्लेषण गर्दा निर्वाचन हुने छाँट देखेको छैन । 

अब नेपाली काँग्रेस कुन रूपले अघि बढ्छ ?

यति बेला हामी आमनेसामने बसेर छलफल गर्न पाएका छैनौँ । हिजो मात्र जुम बैठक बसेर राष्ट्रपतिको कदम वा संसद विघटनविरुद्ध एकताबद्ध भएका छौँ । त्यसपछि पार्टीको बैठक बसेर थप निर्णय गर्नेछौँ । यति बेला देशभरका साथीहरू एवं पार्टीभित्र एकताबद्ध हुन जरुरी छ । पार्टीभित्र बृहत् एकता आवश्यक देखिएको छ । देशभरका नेता साथीहरूलाई, भ्रातृ सङ्गठन, शुभेच्छुक संस्थाहरूका साथीहरूलाई मेरो विनम्र अनुरोध के छ भने सबै सजग भएर एकताबद्ध हुनुहोस् । यति बेला हामी आक्रोशित भएर कहीँ जाने अवस्था छैन । र समाजमा शान्ति कायम राख्नका लागि भूमिका निर्वाह गर्न आग्रह गर्दछु । देश ठूलो हिंसामा फसेका बेलामा हामीले शान्तिमा रूपान्तरण गर्नेतर्फ लाग्नुपर्नेछ । बाँकी कुरा आगामी दिनमा पार्टीका बिचमा पनि छलफल गर्छौ, अन्य पार्टीहरूसँग पनि छलफल गर्नेछौँ । परिस्थिति सहज भएपछि छलफल गरेर देशभरको क्षति विवरण सङ्कलन गर्नेछौँ । देश सङ्कटग्रस्त अवस्थामा रहेकाले यसबाट मुक्त गराउनु दायित्वबोध गर्नुपर्ने छ । एकताबद्ध पार्टीले नै देखिएका चुनौतीहरूको सामना गर्न सक्दछ ।

आन्दोलनमा तपाईँको पार्टी नेपाली काँग्रेस साथै अन्य राजनीतिक दलमा आबद्ध जेनजी पुस्ताका साथीहरु पनि आबद्ध भएको देखिन्थ्यो । उनीहरूप्रति तपाईँको भनाई के छ ?

जेनजी पुस्ताका साथीहरूलाई मेरो आग्रह के छ भने समाज निर्माण गर्ने अभियान शान्तिपूर्ण ढङ्गले अहिंसामा आधारित हुनुपर्छ । त्यसले ल्याएको परिवर्तन स्थायी र दीर्घकालीन हुन्छ । अहिले त हिंसाको लपेटामा परेर ठूलो क्षति भएको छ, सयौँ खर्बौँको क्षति भएको छ । नेपालकै इतिहासमा अहिलेजस्तो क्षति भएकै थिएन । धेरै वर्ष पछि नेपालको अर्थ व्यवस्था धकेलिएको छ । यति ज्यादा मानिसको मनमा त्रास प्रवेश गरेकै थिएन, कलिला युवाहरूको मनमा हिंसा प्रवेश गरेकै थिएन । अब यसको विकसित रूप अघि बढ्यो भने डरलाग्दो रूप लिन्छ । यसले समाजलाई ध्वंस बनाउँछ ।

राजनीतिक विचारधारा, सङ्गठन आफ्नो ठाउँमा छ, विश्वास र आस्था आफ्नो ठाउँमा छ । तर जुनसुकै अवस्थामा शान्तिपूर्ण अवस्थामा मानिस रहनुपर्छ । धैर्यता र संयमताका साथ जे कुरा सोचिन्छ त्यसबाट मात्र समाज निर्माण गर्न सकिन्छ । सकारात्मक सोच र विचारले मात्र समाज निर्माण गर्न सकिन्छ, बदलाको भावनाले समाज बन्दैन । समन्वय, एकताको भावनाले, सबैले सबैलाई सहयोग गर्ने भावनाले मात्र समाज बनाउन सकिन्छ । त्यसैले जेनजी पुस्ताले भाइबहिनीहरू सकारात्मक, रचनात्मक बन्नुपर्छ । तपाईँहरू सिर्जनात्मक बन्नुपर्छ, तपाईँहरूलाई अग्रणी पुस्ताले भर गर्छ । राष्ट्रिय एकता निर्माण गर्नलाई सकारात्मक बन्नुपर्छ र संयमित बन्न आग्रह गर्न चाहन्छु । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update