मुगु - विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू काठमाडौं केन्द्रित भएपछि हिमाली जिल्ला मुगुमा रहेको सामुदायिक विद्यालयहरूको पढाइ एवं भर्ना अभियान प्रभावित भएको छ ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० तत्काल पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
०८१ को चैत २० गतेदेखि जारी आन्दोलनमा शिक्षकहरू होमिएपछि मुगुमा रहेका १ सय ४५ सामुदायिक विद्यालयका २० हजार भन्दा बढी विद्यार्थीहरूको पढाइ प्रभावित भएको हो ।
मुगुका स्थानीय देवीलाल मल्लले शिक्षकहरूको माग जायज होला नहोला यसबारे सरकारले छिटो भन्दा छिटो किनारा लगाउनुपर्ने बताए । आन्दोलनका कारण मुगुका विद्यालय सुनसान भएको उनले बताए ।
मुगुमा रहेका चार स्थानीय तहमा रहेका १ सय ४५ विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरू एक हजार ६४ जनाले विद्यालय बन्द गर्दा १० हजार ४ सय ७६ छात्रा र १० हजार ३ सय २८ छात्राहरूको नियमित भर्ना, पठनपाठन, परीक्षा लगायतका शैक्षिक गतिविधि प्रभावित भएको शिक्षा विकास तथा समन्वय ईकाइ मुगुका निमित्त कार्यालय प्रमुख खड्कराज भियालले बताए ।