मकवानपुरमा गैंडाको आक्रमणबाट एक घाइते

मकवानपुर - पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-६, खयरघारीमा जङ्गली गैंडाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्। शनिबार दिउँसो मरुगे तालस्थित ब्रह्मदेवी लामिदमार मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका ३५ वर्षीय रामदिनेश कुशवारलाई गैंडाले आक्रमण गरेको हो।
घटनालगत्तै प्रहरी चौकी सुनाचुरीबाट खटिएको टोलीले उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गैंडाको आक्रमणबाट उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ।
गैंडाको उपस्थितिले स्थानीयवासीमा त्रास फैलिएको छ भने वन क्षेत्रमा आवश्यक सुरक्षाका उपाय अपनाउनुपर्ने आवाज उठ्न थालेको छ। वन्यजन्तु संरक्षणका प्रयासबीच मानव-वन्यजन्तु द्वन्द्व बढ्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१ १०:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय