मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित प्रहरी चेकपोस्टमा चेकजाँचका क्रममा कारबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद भएको छ । गाँजा बरामद भए पनि कार चालक भने फरार भएका छन् ।
प्रहरीका अनुसार गए राति करिब १ः४० बजे पालुङबाट भैँसेतर्फ आउँदै गरेको बा.ए.बी. ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा रोकिएको थियो ।
चेकजाँचका क्रममा चालकले कारको डिकीमा केही नभएको बताएपछि अचानक भागेका थिए । त्यसपछि प्रहरीले डिकी खोलेर जाँच गर्दा साना–ठूला गरी गाँजाका नौ वटा पोका फेला पारेको थियो ।
बरामद गाँजा तौल गर्दा ११७ किलो ९१० ग्राम रहेको पुष्टि भएको छ । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको कार नियन्त्रणमा लिएको छ ।
फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । बरामद गाँजा र कार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

