Harsamaya
चोरीका गरगहना तथा नगदसहित जय बागेश्वरीबाट एक जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - काठमाडौंको जय बागेश्वरीस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ जय बागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोल रहेका छन् । 

प्रहरीका अनुसार मंसिर १ गते दिउँसो करिब साढे २ बजे जय बागेश्वरीस्थित एक घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट टोली खटिएको थियो । खोजतलास तथा अनुसन्धानका क्रममा बागमती प्रदेश ०२–०३६ प ४९७५ नम्बरको स्कुटरमा सवार डंगोललाई प्रहरीले फेला पारेको थियो । 

उनको घरको कोठामा खानतलासी गर्दा चोरीका विभिन्न गरगहना तथा सामान फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको साथबाट पहेँलो धातुका चुरा, सिक्री, लकेट, औँठी, मुन्द्रा, टप, नथिया, सिक्का लगायतका गरगहना तथा चाँदीजस्तो देखिने सिक्का, गिलास, चम्चा, लोटा, पाउजु, मूर्ति, कचौरा र अन्य सामग्री बरामद गरेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ १६ हजार ७१६ र नेपाली रुपैयाँ ४१ हजार नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

डंगोललाई चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update