Harsamaya
सर्लाहीमा कार र अटो ठोक्किँदा ६ जना घाइते, दुई जनालाई काठमाडौं रिफर
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सर्लाही - सर्लाहीमा कार र अटो एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान १०ः२० बजे पर्सा गाउँपालिका–१ शीतलपुरस्थित सडकखण्डमा दुर्घटना भएको हो।

महोत्तरीको सम्सीबाट शीतलपुरतर्फ जाँदै गरेको बा २१ च ३०१५ नम्बरको कार फर्काउने क्रममा सोही दिशाबाट आउँदै गरेको ज १ ह ३७४५ नम्बरको अटोसँग ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटो चालक महोत्तरीको सोनमा गाउँपालिका–५ निवासी ३५ वर्षीय रविन्द्र यादवसहित ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि महोत्तरीको रघुनाथपुरस्थित आरबी अस्पताल लगिएको थियो।

घाइतेमध्ये महोत्तरीको सम्सी गाउँपालिका–७ निवासी ६० वर्षीय राजकिशोर साह र सर्लाहीको मलंगवा नगरपालिका–१२ गमरियाकी रेनु देवी साहका ७ वर्षीय छोरा मुरारी साहको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

त्यस्तै, सर्लाहीको कौडेना गाउँपालिका–६ सकरौलका २१ वर्षीय जसविन्द्र मुखिया, मलंगवा नगरपालिका–१२ गमरियाकी २८ वर्षीया रेनु देवी साह र मलंगवा नगरपालिका–७ मुसैलीकी १६ वर्षीया अम्बिका यादव घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि कार चालक महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुर निवासी ५१ वर्षीय मनोज कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update