Harsamaya
माइक्रोबस २० मिटर तल खोलाको बगरमा खस्यो, १४ जना घाइते
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सिन्धुली - सिन्धुलीमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रोबस अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खोलाको बगरमा खसेको हो ।

जिल्लाको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा मंगलबार दिउँसो करिब २ बजे मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माइक्रोबसमा सवार चालकसहित १४ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ । घाइते हुनेमा धनुषाको शहीदनगर नगरपालिका–८ का चालक दीपककुमार दास, शहीदनगर नगरपालिका–७ की १७ वर्षीया रानीकुमारी मण्डल रहेका छन् ।

त्यस्तै, शहीदनगर नगरपालिका–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित पनि घाइते भएका छन् ।

ललितपुरको भैँसेपाटीकी ३६ वर्षीया प्रियाङ्का साह तथा उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह र ३ वर्षीया ओमी साहसमेत दुर्घटनामा घाइते भएका छन् ।

दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो ।

बाँकी पाँच जना घाइतेको पहिचान खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update