काठमाडौं - काठमाडौं उपत्यकामा प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा ९७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना र चालु मुद्दाका ६ जना फरार प्रतिवादीसमेत छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक ११ देखि १२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको ‘स्वीप अपरेसन’ का क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ८२ पुरुष र १५ महिला छन् ।
प्रहरीले सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी कार्यालय आसपास, बसपार्क, व्यस्त बजार तथा बढी भीडभाड हुने क्षेत्रमा निगरानी र चेकजाँच तीव्र पारेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्नुका साथै सम्भावित आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी टोली परिचालन गरिएको हो ।
बसपार्क, सार्वजनिक यातायात र सरकारी कार्यालय आसपास चोरी, लुटपाट, दुर्व्यवहार तथा बिचौलियाका गतिविधि हुनसक्ने भएकाले त्यस्ता क्षेत्रमा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र अपराध नियन्त्रणका लागि विशेष निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइने परिसरले जनाएको छ ।

